काठमाडौं– पछिल्लो समय सत्तारुढ दल नेकपा माओवादी केन्द्र अनि नेकपा एसका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बहसमा ल्याएको समाजवादी केन्द्र निर्माणको रापतापले कम्युनिस्ट राजनीतिलाई तताएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अंशबन्डा भएपछि पूर्ववत् अवस्थामा फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चिराचिरामा विभक्त कम्युनिस्टहरूलाई एउटै छातामुनि ल्याउन समाजवादी केन्द्र निर्माणको पहल गरिरहेका छन्। दाहालको यो पहललाई एमालेबाट बाहिरिएर नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतम, संघीय समाजवादी पार्टीबाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई, एमालेबाटै चोइटिएर नेकपा एस गठन गरेको उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतको आडभरोसा रहेको छ।
तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा रहेकामध्ये दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्ठले गत असार १९ र यही साउन ४ मा गरी दुई पटक समाजवादी केन्द्र निर्माणको मुख्य एजेन्डा अगाडि सारेर छलफल चलाइसकेका छन्।
विचार र राजनीतिक दर्शनमा आकाश–जमिनको फरक रहेको नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरू टुटफुट भएका नेपालका कम्युनिस्टलाई एउटै कोटरीमा ल्याउने पहल नै समाजवादी केन्द्र निर्माणको अन्तिम गन्तव्य भएको दाबी गरिरहेका छन्। तर संगठन, पार्टी संरचना र जनमतमा सत्तारुढ कांग्रेस हाराहारी रहेको र कम्युनिस्ट पार्टीका धरोहर पुष्पलाल श्रेष्ठले स्थापना गरेको पुरानो पार्टी हालको नेकपा एमाले अनि यसका अध्यक्ष केपी ओली समाजवादी केन्द्रमा नअटाउने घोषणा अध्यक्ष दाहाल, नेता नेपालहरूले गरिसकेका छन्।
निर्वाचन आयोगमा हाल ११४ वटा राजनीतिक दल दर्ता रहेको तथ्यांक छ। आयोगमा मात्रै दल दर्ता गर्ने कम्युनिस्ट नामधारीहरूको संख्या २१ रहेको छ। दाहालहरूले कम्युनिस्ट पार्टी एउटै बनाउने हो भने यिनै झिनामसिना समूह र व्यक्तिलाई समावेश गरेर समाजवादी केन्द्र निर्माण गर्ने हुन् वा एमालेलाई नेपथ्यमा राखेर राजनीति अगाडि बढाउलान्, यो विषय भने अन्योलमा देखिन्छ।
कांग्रेससँग गठजोड गरेर सत्तामा पनि रहिरहने र कम्युनिस्टहरूलाई गोलबद्ध गरेर समाजवादी केन्द्र निर्माण गर्ने दाहालको दाउ राजनीतिक रूपमा असफल रणनीति भएको बुझ्न कठिन छैन। ७ साउनमा मधेश प्रदेशको राजधानी जनकपुर पुगेका दाहालले समाजवादी केन्द्र निर्माण भन्नु र वामपन्थी एकता भन्नु उस्तै–उस्तै भएको बताए। अध्यक्ष दाहालले जे–जे भने पनि वाम एकता मूल विषय रहेको दाबी गर्न छाडेनन्। उनले भनेका थिए, ‘वामपन्थी एकता भयो भने समाजवादी केन्द्रजस्तै हुन सक्छ। वामपन्थी एकता भन्नु र समाजवादी केन्द्र भन्नु उस्तै–उस्तै हो।’
गठबन्धनभित्रका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताए पनि दाहालले एमालेलाई अहिलेसम्म समाजवादी केन्द्र निर्माणको बहसको निम्तो दिएको कहीँकतै सुनिन्न। आगामी प्रदेशसभा र संघीय निर्वाचनअघि नै पार्टी एकता संयोजन समिति वा संयुक्त निर्वाचन संयोजन समिति बनाएर समाजवादी केन्द्र निर्माण गर्ने योजनामा दाहाल रहेको संकेत देखिइँदै छ।
हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानमा रहेका नेताले पार्टी एकता गर्ने वा संयुक्त रूपमा निर्वाचन लड्ने गरी गृहकार्य अघि बढाएको देखिन्छ। यसका लागि कांग्रेससँगको सत्ता साझेदारीबाट दाहालहरू बाहिरिनुपर्ने हुन्छ।
केही दिनअघि सत्तारुढ दल नेपाली कांग्रेसको मुख्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाणले दाहालको पार्टी माओवादीलाई झस्का दिने गरी एउटा रिपोर्ट पेस गरे। त्यो रिपोर्टमा आउँदो संघीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले जम्मा ८ ठाउँमा आफ्ना उम्मेदवार जिताउन सक्ने गुप्तचरी सूचनाको आँकडा पार्टी बैठकमा चुहाए।
यसपछि दाहालले समाजवादी केन्द्र निर्माणको बहसलाई टुंगोमा पुर्याउन जोडबल गरिरहेको प्रस्टै देखिन्छ। राष्ट्रिय राजनीति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन र कांग्रेससँग गठबन्धनलगायतका सैद्धान्तिक विषयलाई केन्द्रमा राखेर हुँदै आएका छलफलको निचोड जसरी पनि कम्युनिस्टहरू एउटै छाताभित्र हुनुपर्ने र आउँदा निर्वाचनमा राम्रो नतिजा ल्याउने गरी समाजवादी केन्द्र निर्माण वा वामपन्थी एकतामा जानुपर्ने भन्नेमै रहेको छ।
केही दिनअघि सिंहदरबारमा भएको समाजवादी केन्द्र निर्माणको बहसमा अध्यक्ष दाहालले भनेका थिए, ‘पाँचदलीय गठबन्धन, त्यसभित्र वामपन्थी गठबन्धन र मोर्चा निर्माणलगायतका विषयलाई प्राथमिकतामा राखेर गहन छलफल भयो। यसलाई निरन्तरता दिएर टुंगोमा पुर्याउँछौं।’
गत मंगलबार यही अभियानको पहल गरिरहेका शीर्ष नेताहरूको छलफलपछि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादी केन्द्र निर्माण गर्ने प्रयासमा प्रगति भइरहेको बताएका थिए। छलफलमा दुई विकल्प अगाडि सारिएको थियो। पहिलो, समग्र वामपन्थीलाई एकताबद्ध गर्ने र दोस्रो, पाँच दलीय गठबन्धनभित्रका वामपन्थीबीच एकता गर्ने। त्यो छलफलमा चुनावी मोर्चा मात्रै भए पनि बनाएर जानुपर्ने विषयसमेत उठान भएको खनालले सुनाएका थिए।
चोइटिएका कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँ ल्याएर आउँदो निर्वाचनको सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ गर्न समाजवादी केन्द्र निर्माण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को रणनीति छ।
सिंहदरबार, कोटेश्वर, खुमलटार बैठकमा जारी छलफल शृंखलापछि पनि अहिलेसम्म समाजवादी केन्द्र निर्माणका लागि कुन विकल्प अपनाउने भन्ने निष्कर्षमा दाहालहरू पुगिनसकेको देखिन्छ। यद्यपि कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँ ल्याएर आउँदो निर्वाचनको सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ गर्न समाजवादी केन्द्र निर्माण हुनैपर्ने निष्कर्षमा दाहालहरूले छलफल गरिरहेको बताइन्छ। कांग्रेसबाहेकका शक्ति र अरु कम्युनिस्टलाई समेटेर समाजवादी केन्द्र बनाउने र आफूहरू ‘ठूलो’ भएको देखाउन निर्वाचनमा ठूलो भाग खोज्ने उद्देश्य यसभित्र रहेको संकेत देखिन्छ।
समाजवादी केन्द्रमा राष्ट्रिय जनमोर्चा र जसपा छाडेका बाबुराम भट्टराईलाई सहभागी गराउन दाहाल सहमत भइसकेका छन्। यसका लागि गत मंगलबार, बुधबार र बिहीबार तीन चरणमा दाहाल–भट्टराईबीच छलफल भइसकेको छ। दुई नेताबीचको छलफलमा एकता गर्दा नेकपा समाजवादी केन्द्र बनाउने वा समाजवादी केन्द्र मात्र राख्ने भन्नेमा विवाद छ। भट्टराईले नेकपा राख्न मानेका छैनन् भने दाहाल र नेपाल नेकपा समाजवादी केन्द्रको पक्षमा रहेको बताइन्छ।
माओवादीले केही समयअघि सम्पन्न केन्द्रीय समिति बैठकबाटै समाजवादी केन्द्र बनाउने निर्णयमा सहीछाप गरिसकेको छ। एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ। गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले विभाजित कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने र हुन नसके कार्यगत एकता गरेरै आउँदो निर्वाचनमा जानुपर्नेमा जोड दिँदै आएको छ।
सिंहदरबारको छलफलमा सहभागी माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने तत्काल समाजवादी केन्द्र बन्ने सम्भावना कम रहेको बताएका थिए। उनले भनेका थिए, ‘सामान्यतया कांग्रेससँगको गठबन्धन कायम राख्ने तर कम्युनिस्टहरूबीच एकता गरेरै आउँदो निर्वाचनमा जाने विषयको छलफलमा सबै नेताहरू सहमत भए। विचार मिल्ने कम्युनिस्ट शक्तिहरूबीच एकीकरण गर्न हाम्रो पार्टी र एकीकृत समाजवादीबीच एकता हुन सक्छ।’
पछिल्लो समय नेकपा एस र माओवादी केन्द्रबीच एकता गराउन माओवादीका स्थायी कमिटी सदस्य देव गुरुङ, वर्षमान पुन र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र प्रमेश हमाल गृहकार्यमा जुटिरहेका छन्। तर अन्य कम्युनिस्ट घटकहरूबीच भने अहिलेसम्म छलफल भएको देखिन्न। नेपाली राजनीतिमा परम्परागत दुई ध्रुव (कांग्रेस, एमाले) लाई चुनौती दिने गरी समाजवादी केन्द्र निर्माणको प्रयास भइरहे त्यसले अझैसम्म पूर्णता भने पाइसकेको छैन।
ओलीको बोलीः कांग्रेससँग मिल्नेसँग केको एकता?
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय बहसमा आएको समाजवादी केन्द्र निर्माणमा एमाले सहभागी नहुने बताएका छन्। राजनीतिक दर्शनमा भिन्न विचारधारा भएको कांग्रेससँग सत्ता साझेदार गर्नेहरू कम्युनिस्ट नै नभएको उनको आक्षेप छ। शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसमा आयोजित कार्यक्रममा पनि ओलीले यो कुरा चुहाए।
अध्यक्ष ओलीले मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको प्रसंग कोट्याए। ओलीले भने, ‘जसले (कांग्रेस) ४ वर्षसम्म कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो। अहिले कांग्रेसकै सारथि बनेर सत्तामा गएकाहरूले आफू कम्युनिस्ट हुँ भन्ने कुरा कसरी गर्न सके होलान्?’
एमालेले नेपालमा वामपन्थीहरूको नेतृत्व लिँदै आएको ओलीले जिकिर गरे। समाजवादी केन्द्र निर्माण गर्ने भनेर चलाइएको अभियान कम्युनिस्टहरूबीच फुट ल्याउने अस्त्र भएको दाबी ओलीले गरे। बरु नेकपा माओवादी र नेकपा एस एमालेभित्र आउनुपर्ने बताए। ओलीले भने, ‘कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने हो भने कांग्रेससँग सत्ता चाख्न गएकाहरू एमालेमा आउनुपर्छ। एमालेलाई समाजवादी केन्द्र निर्माणमा चासो छैन। एमालेलाई वाम एकता चाहिन्न। एक्लै निर्वाचनमा जान्छ र बहुमत ल्याएर सरकार बनाउँछ। समाजवाद्री केन्द्र निर्माणको बहसको औचित्य छँदै छैन।’
अर्का नेता शंकर पोखरेल पनि वामपन्थी एकताको प्रतीक्षामा एमाले नरहेको बताउँछन्। उनले वामपन्थी एकता दाहालहरूको चुनावी तालमेल रणनीति मात्रै भएको दाबी गरे। कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका उनले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको स्पष्ट पारे। एमालेलाई कम्युनिस्ट पार्टीहरू एउटै हुने अभियानमा निम्तो पनि नआएको र त्यो प्रस्ताव अनुचित रहेको उनको जिकिर छ। दाहालहरूले निर्वाचनमा हार्ने डरले तत्कालीन वा रणनीतिक हिसाबमा वामपन्थी एकताको राग अलापेको उनको दाबी छ।
कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै मिल्दैनः उपेन्द्र यादव
समाजवादी केन्द्रमा जसपालाई ल्याउन पहल भइरहेको नेकपा माओवादी अध्यक्ष दाहालले बताएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शनिबार नै कम्युनिस्टहरूले समाजवादी केन्द्र खोल्नै नमिल्ने तर्क अगाडि सारेर सहभागी नहुने घोषणा गरेका छन्। कुनै बेला एमाले नेता रहेका उपेन्द्रले जसपा गठनपछि कम्युनिस्टहरूलाई एउटै ठाउँ ल्याउने उद्देश्य सत्ता र झगडा मात्रै भएको दाबी गरेका छन्। उपेन्द्रले यसो भन्नुको कारणचाहिँ आफैंले निष्कासन गरेर पार्टीविहीन बनाएका बाबुराम भट्टराईले जसपामा हुँदै समाजवादी केन्द्रको अवधारणा ल्याएका थिए। पार्टीबाट निष्कासनमा परेका बाबुराम समाजवादी केन्द्र निर्माणको हर्ताकर्ता भएपछि उपेन्द्रले दाहालहरूको अभियानलाई साथ नदिने देखिएको हो।
यादवले भनेका छन्, ‘कम्युनिस्टहरूले समाजवादी केन्द्र स्थापना गर्नै सक्दैनन्। गरे पनि त्यो सैद्धान्तिक रूपमा मिल्दैन। कम्युनिस्टहरू साम्यवादी हुन्छन्, समाजवादी हुनै सक्दैनन्।’ अध्यक्ष यादवले कम्युनिस्टहरूले समाजवादी केन्द्रको नाममा जनतालाई ठग्ने काम गर्न लागेको टिप्पणीसमेत गरे।