काठमाडौं– पोखरामा देशभरका महानगरपालिकाका मेयरको सम्मेलन हुने भएको छ। यही साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो।
महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्न कार्यक्रम राखिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
आचार्यले १ महिनाअघि मेयर सम्मेलनका लागि निम्तो गरेका थिए। सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए। ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर (चिरिबाबु महर्जन र रेणु दाहाल) छन् भने अरुमा नयाँ मेयर निर्वाचित भएका छन्। पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने विश्वासका साथ सम्मेलन आयोजना गर्न लागिएको आचार्यको भनाइ छ।
६ वटा महानगरमध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन्द्र शाह छन् भने विराटनगरमा कांग्रेसबाट निर्वाचित भएका नागेश कोइराला छन्। त्यसैगरी वीरगन्जमा जसपाका राजेशमान सिंह निर्वाचित भएका छन्।