काठमाडौं– पार्टी निर्णयअनुसार नहिँडेपछि संघीय समाजवादी पार्टीबाट सांसद पद गुमाएकी पूर्वमन्त्री एवं निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा फर्किएकी छन्। गिरीलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रामकुमार महतोलगायतले सद्भावना पार्टीमा प्रवेश गराएका हुन्।
नेतृ गिरीले आफूले कहिल्यै नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन्। उनले भनिन्, ‘म आज सदस्यको रूपमा उपस्थित भएकी छु। सद्भावना पार्टी कहिल्यै पनि परित्याग गरेकी थिइनँ। यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो। उहाँकै योगदानको कारण आज मुलुकमा संघीयता आएको हो। पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन। तर अहिले पार्टीभित्र युवा सहभागिता भएकाले अघि लैजान सहज हुनेछ।’
गिरीले मधेस, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन्। २०४७ मा स्थापना भएको सद्भावना पार्टीबाट आफूले राजनीतिको क, ख, ग सिकेको र गजेन्द्रबाबुराको शिष्य भएकोसमेत उनले बताइन्। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष महतो, केन्द्रीय सदस्यलगायतले आ–आफ्नो धारणा राखेका थिए।