शनिबार, असार ६, २०८३

पुष्पलाल : कांग्रेस-कम्युनिस्ट मिलनका सूत्रधार

कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग पुष्पलालले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको इतिहासविद् जोशीको बुझाइ छ।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

काठमाडौं- साउन ७ शनिबार। प्रजातन्त्रका लागि कांग्रेस-कम्युनिस्ट मिलेरै राणा, शाह शासन हुइँक्याउनुपर्ने मान्यतामा अडिग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शनिबार ४४औं स्मृति दिवस विविध कार्यक्रम गरी देशैभर मनाइँदै छ।

National life

पुष्पलाललाई नेपालका वाम पार्टीले मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई पुराना कांग्रेसीहरूले पनि सम्झिने गर्छन्। यसको कारणचाहिँ पुष्पलाल कम्युनिस्ट पार्टीका संस्थापक भए पनि प्रजातान्त्रिक शासन व्यवस्थाका लागि कांग्रेससँग हिमचिम राख्थे।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराईहरूसँग त पुष्पलालको उठबस लामो समयसम्म भयो। 

१५ असार १९८१ मा त्यतिबेलाको पूर्व २ नं. रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल सानैदेखि क्रान्तिकारी स्वभावका रहेको उनको इतिहास पढ्दा थाहा लाग्छ।

इतिहासविद् हरिराम जोशीका अनुसार नेपालमा पहिलोपल्ट सरकारी कर्मचारीको हडताल भयो, २००९ मा। पुष्पलालका पिता भक्तलाल सरकारी कर्मचारी थिए। २००९ को अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए।

Shivam cement

राणा शासनको जगजगी रहेका बेला शासकविरुद्ध बोल्नु, लेख्नु त्यतिखेर काल निम्त्याउनु हुन्थ्यो। राणा शासनविरोधी मोर्चाको नेतृत्व लिएको बात लगाएर १९९७ मा गंगालाल श्रेष्ठलाई राणा शासकले गोली हानी प्राणदण्ड दिए। यिनै पुष्पलालका दाजु थिए, गंगालाल। दाजुलाई गोली ठोकी मार्नु अघिल्लो दिन भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस्’ भनेका रहेछन्। दाजुको यही वचन पुष्पलाललाई राजनीतिमा होमिन र प्रजातन्त्रका लागि राणा शासन अन्त्य गर्न प्रेरणा स्रोत बनेको देखिन्छ।

राणा शासनको जग भत्क्याउन पुष्पलालले १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे। संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बसाइएको थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खाले तालिम दिने गरिन्थ्यो। 

पुष्पलालले भारतमा पनि राणाविरोधी गतिविधि अगाडि बढाउन १९९७ देखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न सहयोग पुर्‍याएको इतिहासविद् जोशी सुनाउँछन्।

२००४ मा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार र प्रजातन्त्रका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधानलगायतले गरेका थिए। जनताद्वारा गरिएको पहिलो आन्दोलनका कारण दबाब खेप्न नसकेर तत्कालीन राणा शासक पद्मशमशेरले सुधारको कदम चाल्ने घोषणा गरे, २००४ मा।

पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोपरी विचारधारा ठानेर २००६ मा कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। कम्युनिस्ट पार्टी स्थापना गर्नुको कारणचाहिँ सोही वर्ष कलकत्तामा भारत कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेट ठानिएको पुष्पलालको जीवनी पढ्दा बुझ्न सकिन्छ।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न उबेलै कम्युनिस्ट पार्टीको घोषणापत्रसमेत नेपालीमा अनुवाद गराए। कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग रहने पुष्पलालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको इतिहासविद् जोशीको बुझाइ छ।

कम्युनिस्ट राजनीति इमान, निष्ठा र सिद्धान्तबाट विचलित हुन नहुने मान्यतामा अडिग पुष्पलालले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाकै कारण नेपालमा वामपन्थीहरूको फैलावट हुन सकेको इतिहासविद् जोशीको बुझाइ छ।

दिवंगत एमाले नेतृ सहान प्रधानसँग वैवाहिक बन्धनमा बाँधिएका पुष्पलालले प्रजातन्त्रका लागि परिवारलाई कम र देशका लागि ठूलो समय खर्चिए। २०१५ को आमनिर्वाचनमा तनहुँको बन्दीपुरबाट निर्वाचन जितेका थिए। २०१६ मा उनले सोभियत संघमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनको भ्रमणसमेत गरे।

नेपाली कांग्रेसका नेता बीपी कोइराला नेतृत्वको बहुमतको प्रजातान्त्रिक सरकारलाई तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ मा सैन्य कुमार्फत अपदस्थ गरे। राजा महेन्द्रको प्रजातन्त्रमाथिको कुबाट रुष्ट पुष्पलाल त्यसपछि भूमिगत र निर्वासित जीवन बिताउन थाले। पुष्पलालले छरिएका कम्युनिस्टहरूलाई जमघट गराएर तेस्रो महाधिवेशन गरे।

इतिहासविद् जोशीका अनुसार बीपी र पुष्पलाबीच राजनीतिक र वैचारिक मतभेद भए पनि व्यक्तिगत सम्बन्ध असाध्यै राम्रो थियो। यसको उदाहरण १० वर्षसम्म बीपी–पुष्पलाल प्रवासमा रहँदा एउटै कोठामा बसेका थिए। बीपीले पुष्पलाललाई कहिल्यै नराम्रो व्यवहार गरेनन्।

बीपी १७ पुस २०३३ मा स्वदेश फर्किए। स्वदेश फर्किनु ठीक पाँच दिनअघि बीपी र पुष्पलालबीच सारनाथमा अन्तिम भेट भएको जोशी सुनाउँछन्। त्यो भेटमा उनीहरूबीच नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा लामो छलफल भयो। पुष्पलालले बीपीलाई नेपाल नफर्किन सम्झाएका थिए।

कांग्रेस र कम्युनिस्टहरू मिलेर संघर्ष गरे मात्रै नेपालमा राजशाही निरंकुश पञ्चायती व्यवस्था ढाल्न सकिन्छ भन्ने मान्यतामा अडिग पुष्पलालको ७ साउन २०३५ मा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गर्दागर्दै निधन भयो।

पुष्पलाललाई कांग्रेसले कति मान्यता दिन्थ्यो भन्ने सप्रमाणचाहिँ नयाँ दिल्लीमा उपचाररार्थ रहेका बेला कांग्रेस नेता गणेशमान सिंह, शैलजा आचार्यलगायतले पटक–पटक भेट गरे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस नेताहरूले पुष्पलालप्रति निकै ठूलो भरोसा राख्ने गरेको इतिहासमा प्रमाणित भइसकेको जोशीको बुझाइ छ।

पुष्पलालको प्रजातान्त्रिक आन्दोलनलाई अनेक विवादमा पारेर कम्युनिस्ट पार्टीभित्र तत्कालीन महासचिव (२०१९) केशरजंग रायमाझीहरूले निष्कासनसमेत गरे। केशरजंग तिनै हुन्, जसले पञ्चायती व्यवस्थामा प्रवेश गरेर राजालाई सहयोग पुर्‍याए। कम्युनिस्टभित्रकै सहयात्रीले राजनीतिमा अगाडि बढ्न नदिन अनेकौं बाधा–अड्चन थोपरे पनि पुष्पलाल अविराम प्रजातान्त्रिक र वाम आन्दोलनमा निरन्तर संघर्षरत रहिरहे।

पुष्पलालको प्रजातन्त्रप्रतिको अठोटकै कारण २०४६ मा कांग्रेस–कम्युनिस्टबीचको समझदारीले जनआन्दोलन हुन सक्यो। तत्कालीन राजा वीरेन्द्रले पञ्चायती व्यवस्थालाई हटाएर बहुदलीय प्रजातान्त्रिक शासन दिन सहमत भए। अझ पछिल्लो समय कांग्रेस–कम्युनिस्टहरूको मिलनकै कारण नेपालमा गणतान्त्रिक शासन व्यवस्था चलिरहेको छ। जनताले आफ्ना जनप्रतिनिधिमार्फत शासित हुने मौका पाएका छन्। 

राजनीतिलाई सही लिकमा ल्याउन आफ्नो जीवनलाई नै कम्युनिस्ट आन्दोलनमा समर्पित गरेका पुष्पलाल सही मानेमा प्रजातान्त्रिक शासन व्यवस्थाका मसिहा थिए। नेपालमा पुष्पलालले छाडेर गएको कम्युनिस्ट आन्दोलन सफल भए पनि चिराचिरा परेका वाम घटकहरूबीच अहिले पनि विचारको नभई सत्ताका लागि हानथाप चलिरहेको छ। पुष्पलाल आफूहरूकै मात्र भएको दाबी गर्नसमेत उनीहरू पछि पर्दैनन्।

कम्युनिस्टहरूबाटै कम्युनिस्टमाथि धारे हात : एमाले अध्यक्ष ओली

चिराचिरामा विभक्त नेपालका कम्युनिस्ट पार्टीहरूबीच बेमेल अझ चर्किंदो छ। पछिल्लो समय पुष्पलालको मार्गनिर्देशनमा चल्ने भनिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र माओवादलाई मूल एजेन्डा बनाएर राजनीति गरिरहेको नेकपा माओवादी केन्द्र हाल कांग्रेसको बुई चढेर सत्तामा आसीन छन्। 

पुष्पलालको लिगेसी बोकेको भनिएको हालको नेकपा एमाले र अरु कम्युनिस्ट पार्टीहरूबीच सत्ता सञ्चालन, राजनीति, आर्थिक, सामाजिक विषयमा ठूलो खाडल छ। शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसमा आयोजित कार्यक्रममा पनि यो दृश्य देखियो। 

एमाले अध्यक्ष केपी ओलीले पुष्पलालमाथि शासकहरूले मात्र नभई आफ्नै साथीहरूले पनि ज्यादती गरेको दाबी गरे। पुष्पलाललाई महासचिवबाट षडयन्त्रपूर्वक हटाएर कम्युनिस्ट आन्दोलन नै कमजोर पार्ने काम भएको उनले बताए। 

ओलीले मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको प्रसंग कोट्याए। ओलीले भने, ‘जसले (कांग्रेस) ४ वर्षसम्म कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो। अहिले कांग्रेसकै सारथि बनेर सत्तामा गएकाहरूले आफू कम्युनिस्ट हुँ भन्ने कुरा कसरी गर्न सके होलान्?’

पुष्पलालमाथि अरू शासकले ज्यादती गर्थे, आफ्नै साथीहरूले पनि ज्यादती गरे। यसको उदाहरण अहिले एमाले भएको उनको दाबी छ। एमाले अध्यक्ष ओलीले आफूहरू नै पुष्पलालको मार्ग निर्देशक भएकाले उनले देखाएको बाटोबाट दायाँबायाँ नगरिने बताए।

नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन पुष्पलालको योगदान अतुलनीय रहेकाले उनका काम र योगदानको प्रेरणा लिएर कम्युनिस्ट सिद्धान्तबाट दायाँबायाँ नहुने कसम ओलीले खाए।

‘पुष्पलालले गरेको संगठन विभिन्न उतारचढाव हुँदै गंगालालको विरासत, बलिदान, प्रजा परिषद्को परिणाम, प्रजा परिषद्ले देखाएको चेतनाको झिल्को, १९९८ मा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुँदै आज देशको सबैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सबैभन्दा सबल शक्ति एमाले भएको छ,’ ओलीले भने, ‘पार्टी अध्यक्षको हैसियतले म प्रण गर्छ, पुष्पलाल र अरू सहिदहरूले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौं।’

हामी पक्का पुष्पलाल : नेता नेपाल

नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालबाटै दीक्षित भएर अर्को कम्युनिस्ट शक्ति जन्माएको बताएका छन्।

शनिबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफूहरू मात्रै सच्च कम्युनिस्ट भएको दाबी गरे। स्वच्छ, इमानदार राजनीतिका निम्ति पुष्पलालले देखाएको बाटोबाट विचलित नभई पार्टीलाई फैलाउने उनको धारणा छ।

नेता नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउनै नसक्ने बताए। ‘देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृत्ति देखापरेको छ।

यसलाई निमिट्यान्न पार्न पुष्पलालले देखाएको बाटोबाटै अघि बढ्छौं’, नेता नेपालले भने। अध्यक्ष नेपालले नेकपा एसले देशमा छुट्टै पहिचान बनाइसकेकाले पुष्पलालको विचारमा अडिग रहेर आगामी राजनीति देश र जनताका लागि मात्रै समर्पित हुने सुनाए।


प्रकाशित: Jul 23, 2022| 14:33 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...