शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सडक-गल्लीमा खेलेर हुर्किएका माने दोस्रोपल्ट भए अफ्रिकी वर्ष खेलाडी

सडक-गल्लीमा खेलेर हुर्किएका माने दोस्रोपल्ट भए अफ्रिकी वर्ष खेलाडी

जस्तोसुकै परिस्थिति आए पनि खेलमा हार मान्नुहुन्न र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुन्न भन्ने सन्देश दिएर फुटबलका रोल मोडल बन्ने बाटो पछ्याउँदै छन् माने।
 |  आइतबार, साउन ८, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, साउन ८, २०७९

काठमाडौं- यही सिजन इंग्लिस क्लब लिभरपुलबाट जर्मन क्लब वार्यन म्युनिखमा अनुबन्ध भएका सेनेगलका फर्वार्ड साडिय मानेले यस वर्षको अफ्रिकन प्लेयर अफ द इअर जितेका छन्। मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले बिहीबार राती मानेलाई अफ्रिकन वर्ष खेलाडी घोषित गरेको हो।

National life

अवार्ड ग्रहण गर्दै मानेले सेनेगलका जनतालाई धन्यवाद दिएका छन्। उनले भने, ‘यस अवार्डबाट सम्मानित हुन पाउँदा खुसी छु। म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु। यो अवार्ड म युवा र देशलाई समर्पण गर्न चाहन्छु।’ मानेले सेनेगलकै गोलकिपर एड्वार्ड मेन्डी र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन्। सन् २०१९ मा पहिलो पटक अफ्रिकन वर्ष खेलाडी अवार्ड जितेका मानेले दोस्रो पटक यो अवार्ड जित्न सफल भए।

वर्ष २०२१/२२

साडियो मानेको नेतृत्वमा रहेको सेनेगलले यो वर्षको महादेशीय उपाधि (अफ्रिका कप) जितेको थियो। फाइनलमा आफ्नै पूर्वसहकर्मी मोहमद सलाहको इजिप्टलाई पेनाल्टीमा पराजित गर्दै सेनेगलले उपाधि जितेको हो। साथै, उनी यस प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत भए। यो उनको पहिलो अन्तर्राष्ट्रिय सफलतासमेत हो। यसअघि सन् २०१९ मा पनि फाइनल पुगेको सेनेगल अल्जेरियासँग पराजित भएको थियो।

मानेले यस वर्ष लिभरपुलबाट दुइटा उपाधि जिते। उनले काराबाओ कप र एफए कपको उपाधि जितेका थिए। च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा पनि तय गरे। तर फाइनलमा स्पेनिस महारथि रियल म्याड्रिडसँग पराजित भएपछि लिभरपुल र मानेको ट्रिबेल जित्ने सपना पूरा हुन सकेन। च्याम्पियन्स लिगको फाइनलमा पुग्दा मानेलाई वालोन डी ओरको दाबेदारीको रूपमा पनि हेरिएको थियो। तर फाइनलमा पराजित भएसँगै उनको सम्भावना न्यून देखिएको छ।

Laxmi sunrise bank
kumari

यस वर्ष मानेको अर्को ठूलो सफलता भनेको आफ्नो देशलाई कतारमा आयोजना हुने फिफा विश्वकप सन् २०२२ फुटबलमा छनोट गराउनु हो। विश्वकप छनोटको अन्तिम प्ले अफको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा इजिप्टलाई ३–१ गोल पराजित गर्दै सेनेगल विश्वकमा छनोट भयो।

सेनेगल पहिलो लेगमा इजिप्टसँग १–० गोल अन्तरले पराजित भएको थियो। तर दोस्रो लेगमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई बराबरी गराए। त्यसपछि खेलको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो। 

पेनाल्टीमा मानेले सेनेगलका लागि विजयी गोल गर्दै आफ्नो देशलाई विश्वकपमा पुर्‍याउन सफल भए।

इंग्ल्यान्डबाट जर्मनीमा माने 

साडियो माने यो सिजन  इंग्लिस  क्लब लिभरपुलमा आफ्नो ऐतिहासिक छाप छाड्दै जर्मन च्याम्पियन वार्यन म्युनिखमा अनुबन्ध भइसकेका छन्। साथै, उनले वार्यनमा  एक  मैत्रीपूर्ण  खेल  खेल्दै  त्यहाँ पनि गोल गरिसकेका छन्। वार्यनसँगको सम्झौतापछि आफू खुसी भएको माने बताउँछन्।

लिभरपुलमा जस्तै वार्यनबाट धेरै कुरा जित्न सक्ने उनको दाबी छ। ‘अहिले वार्यनमा आइपुग्दा धेरै खुसी छु,’ मानेले भनेका छन्, ‘हामीबीच धेरै कुरा भए। मलाई पनि यहाँ आउनु ठीकजस्तै लाग्यो र यो टिमसँग खेल्न उत्साहित भएँ। त्यसैले मेरा लागि चुनौती लिन सही समय थियो। अब मलाई यहाँबाट धेरै जित्न मन छ।’ 

यसअघि साल्जबर्गमा खेल्दा मानेले वार्यनको खेल धेरै हेर्ने गरेको बताएका छन्। मानेको व्यावसायिक फुटबलमा यो पाँचौं क्लबसमेत हो। उनले सुरुमा मेट्ज र रेडबुल साल्जबर्गबाट पनि खेलेका थिए।

‘साडियो माने विश्वस्तरीय स्टार खेलाडी हुन्। उनको खेल विश्वले हेर्छ,’ वार्यनका अध्यक्ष हर्बर्ट हेनरले भनेका छन्, ‘वार्यनले यो स्तरको खेलाडी अनुबन्ध गर्नु राम्रो हो।’ क्लबले उनलाई अनुबन्ध गरेपछि प्रशिक्षक जुलियन नागेल्समेन पनि सन्तुष्ट छन्। मानेभन्दा ५ वर्ष मात्रै जेठा प्रशिक्षक नागेल्समेन भन्छन्, ‘उनी युरोपियन शीर्ष डिभिजनको फुटबलमा ठूलो नाम हुन्। पहिलो वार्तालापबाटै म मानेसँग धेरै खुसी छु। उनले मलाई निःस्वार्थ प्रभाव पारेका छन्, जुन असामान्य छ।’

अहिलेको अवस्था हेर्ने हो भने प्रिमियर लिगमा खेलिरहेका खेलाडीलाई बुन्डेसलिगमा भित्र्याउन सजिलो छैन। धेरै खेलाडी इंग्ल्यान्डबाट जर्मनी जानै मान्दैनन्। यदि जाने भइहाले पनि उनीहरूलाई धेरै  तलब दिनुपर्ने हुन्छ। तर मानेको सन्दर्भमा यस्तो भएन। वार्यनले प्रस्ताव गर्‍यो। त्यसपछि मानेले इच्छा देखाए र अनुबन्धका लागि तयार भए। 

फर्किएर हेर्दा माने

बाल्यकालमा धुलाम्य मैदानमा खाली खुट्टै खेल्थे, माने। उनलाई सानैदेखि फुटबल खेल्ने ठूलो सपना थियो। बाल्यकालमै मानेलाई ठूलो धक्का लाग्यो, जतिबेला उनी सात वर्षका मात्रै थिए। आफ्ना पिता गुमाए। यसले गर्दा उनलाई झन् धेरै कठिनाइ तथा बाधा आइलागे।

आफ्नो बाल्यकाल सम्झिँदै उनी भन्छन्, ‘मेरा आमाबाबुसँग मलाई विद्यालय पठाउने पैसा हुँदैन्थ्यो। म तीन/चार वर्षको थिएँ हुँला। जतिबेला पनि बल सँगै हुन्थें र बाटोमा बच्चाहरू आउने कल्पना गरिरहन्थें। जब उनीहरू आउँथे, म उनीहरूसँगै खेल्न थाल्थें।’

उनले यसरी नै बाटोमा फुटबल खेल्न सुरु गरे। उनको उमेर बढ्दै गयो। खेल हेर्न जान थाले, जतिबेला राष्ट्रिय टिमको खेल हुन्थ्यो। जब उनी आफ्नो आइडल त्यहाँ खेलिरहेका देख्थे, तिनको ठाउँमा मानेले आफैंलाई सम्झिन्थे। ‘हरेक बिहान–बेलुका म साथीहरूसँग फुटबल खेल्ने जान्थें। जब म बालकै थिएँ, प्रिमियर लिगबारे मात्र सोच्थें, जुन टिभीमा हेर्ने गर्थें। त्यो मेरा लागि ठूलो सपना थियो,’ माने भन्छन्।

सात वर्षको उमेरमै पिता गुमाएका माने आफ्नो गाउँप्रति उत्तरदायी देखिन्छन्। त्यसैले आफ्नो कमाइको ठूलो हिस्सा गाउँमै खर्चिरहेका छन्। अस्पताल र विद्यालय बनाउन मोटो रकम खर्चिए। त्यति मात्र होइन, उनले गाउँका विभिन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन्।  उनलाई थाहा छ, आर्थिक अभाव हुँदा मानिसको बाल्यकाल कस्तो हुन्छ भन्ने। बाबुआमाले स्कुल पठाउन नसक्दा कति पीडा हुन्छ, मानेलाई राम्रोसँग थाहा छ।

उतिबेला कष्टकर जीवन बिताएका माने अहिले भने लोभलाग्दो जीवन बिताइरहेछन्। माने सबै मानिसको जीवनको रोल मोडल बन्न सक्छन्। जस्तोसुकै परिस्थिति आए पनि हार मान्नुहुँदैन र आफ्नो सपनामा कहिल्यै पछि हट्नुहुँदैन भन्ने सन्देश तथा ज्ञान साडियो मानेबाट लिन सकिन्छ।

प्रकाशित: Jul 24, 2022| 08:28 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।