सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँको आँबुखेरेनीमा लालीगुराँस संरक्षण अभियान सुरु

तनहुँको आँबुखेरेनीमा लालीगुराँस संरक्षण अभियान सुरु

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

दमौली- तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ। आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो।

National life

कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ। यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए। ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरुवा रोपण गरिएको उनले बताए। 

उनले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरुवा रोपिसकेका छन्। विगत छ वर्षदेखि लालीगुराँस संरक्षणमा लागेका उनले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिए।

‘नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,’ उनले भने, ‘लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु।’

उनका अनुसार हालसम्म सात हजार आठ सय लालीगुराँसका बिरुवा रोपिसकिएको छ। अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ। अहिलेसम्म ९० प्रतिशत बिरुवा सार्न सफल भइएको उनले बताए। ‘नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो’, उनले भने। 

उनले यस वर्ष तेह्रथुमबाट आठ सय बिरुवा खरिद गरी ल्याएका छन्। हालसम्म खर्चको व्यवस्थापन आफैँले गर्दै आएको उनले बताए। ‘रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो। जहाँ जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौँ’, उनले भने। नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ।

छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरुवा रोपण गरेका छन्। यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए। लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उनले बताए।

छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ। आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फुल्ने गरेको छ। प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ।

समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ। विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ। गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ।  -रासस

प्रकाशित: Jul 22, 2022| 23:00 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।