काठमाडौं– राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रबार संसद् बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराएकी हुन्।
उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन्। सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।
सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन्। उनले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्षीय मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताइन्। सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताइन्।
उनले भनिन्, ‘नागरिकता कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सिमानाको अवस्था आदिको सर्वपक्षी मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ। त्यसमा विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलगअलग समय दिएर राखेको अवस्था छ। राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै नागरिकता राष्ट्रियतासँग जोडिएको कुरा हो, हाम्रो खुल्ला सीमाना छ। नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौं। अहिले पनि त्यही कुरा हाम्रो धारणा छ। हाम्रो नागरिकतामा वंशज र अगिकृत जुन छ। त्यो अत्यन्त महत्वपूर्ण कडी हो। वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन्। त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुन्छ। हामीले त्यसरी जानु हुँदैन।’
उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन् भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताइन् ।