काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने गरी कलम चलाउन कांग्रेस पार्टीप्रति शुभेच्छुक प्रेस युनियनमा आबद्ध पत्रकारलाई आग्रह गरेका छन्।
शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा लाग्ने बताए।
प्रजातन्त्रका लागि भएका हरेक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा सञ्चार क्षेत्रको वहन गरेको भूमिकाको प्रशंसा गरे। निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्न उनले सुझाव दिए। पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेकाले निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने प्रधानमन्त्री देउवाको भनाइ छ।
कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण राख्न सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालको अवस्था श्रीलंकाजस्तो हुने कुरा वाहियात भएको दाबी गरे।
युनियनको नवौं महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन्।