काठमाडौं- साउन ६ गते शुक्रबार। ४०औं बीपी स्मृति दिवस। नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व बीपी कोइरालाको राजनीति एवं साहित्यिक योगदानको स्मरण गरी शुक्रबार देशैभर सम्झिइँदै छ।
बीपीका सहयात्रीहरू जीवित नरहे पनि उनले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन्। नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको स्थानलाई अहिले पनि महत्त्वका साथ हेरिन्छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनस्र्थापना र प्रजातन्त्रकै संरक्षण अनि संवद्र्धनमा बीपीको योगदान अतुलनीय रहेको टिप्पणी गर्छन्। उनले कांग्रेसले पाएको अहिलेसम्मको अविष्मरणीय नेतृत्वको भूमिका बीपीकै कारण भएको बताए।
उनले भने, ‘नेपालमा जहाँनिया राणा शासन अन्त्यको आह्वान भयो। त्यहाँ मातृकाप्रसाद कोइराला २००७ को क्रान्तिको कमान्डर नियुक्त हुनुभयो, सम्पूर्ण अधिकार प्राप्त। मातृकाको पालामा क्रान्ति भयो, २००७ मा। आधिकारि लिडरसिप मातृका भए पनि राजनीतिक नेतृत्व बीपीकै थियो।’
यस्तै, वरिष्ठ पत्रकार किशोर नेपाल बीपीले जस्तो पार्टीकौ कार्यभार अन्य सभापतिहरूले बोक्न नसकेको टिप्पणी गर्छन्। कांग्रेसलाई अग्रगामी दिशामा लैजान बीपीले अभूतपूर्व योगदान गरेको विश्लेषण उनले गरे। उनले नेपालमा आवश्यक सवारी साधनसमेत नभएकाब बेला बीपीले देशभर घुमेर पार्टी संगठन विस्तार गरी कांग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताए।

उनले भने, ‘बीपी कोइराला जतिखेर सभापति हुनुभयो, त्यो बेलामै नेपाली कांग्रेस अग्रगामी बन्यो। यसका धेरै दस्तावेज पनि बने। बीपीका चिन्तन भएका धेरै कुराहरू बाहिर आए। उहाँले पार्टीकौ एउटा सेप तयार गर्नुभयो। आफैं घुमन्ते भएको हुनाले पनि उहाँले धेरै मान्छेहरूसँग भेट्नुभयो। मोटर सेवा नभएका बेला दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भनेको निकै गाह्रो कुरा थियो। त्यो बेलामा संगठन बनाउन जति मिहिनेत बीपीले गर्नुभयो, त्यति अरू सभापतिहरूले भार बोक्नुपरेन।’
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर बीपीले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको स्मरण गर्छन्। उनले कांग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व बीपीकै योगदान भएको बताए। संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी कांग्रेसले संसदीय निर्वाचनमार्फत २०१५ मा दुई तिहाइ बहुमत प्राप्त गरेपछि बीपी प्रधानमन्त्री बनेको उनको भनाइ छ।

उनले भने, ‘कांग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व भनेको उहाँको नै हो। बीपीले २०१२ मा फेरि सुवर्णशमशेरलाई सभापति बनाउनुभयो। त्यो कांग्रेस अधिवेशनबाट उहाँले समाजवाद पारित गराउनुभयो। सुवर्णशमशेरको नेतृत्वमा चुनाव हुँदा कांग्रेसले ठीक ऊर्जा लिन सक्दैन भनेर उहाँले विशेष अधिवेशन गर्नुभयो। फेरि विशेष अधिवेशनले बीपीलाई सभापतिमा निर्वाचित गर्यो। उहाँले संविधानसभाका लागि नयाँ राजा (महेन्द्र) लाई दबाब दिनुभयो। त्यो दबाबले संविधानसभाको चुनाव नभए पनि राष्ट्रिय निर्वाचन भयो। त्यस चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत पाएपछि बीपी प्रधानमन्त्री हुनुभयो।’
आचार्यले बीपीले संगठन बनाउन गर्नुपरेको परिश्रम जति अन्य सभापतिले गर्नु नपरेको उल्लेख गरे। कांग्रेसका सभापतिहरूले अन्तिममा आए आफूलाई सफल बनाएको इतिहास रहेकाले अहिलेका सभापति शेरबहादुर देउवाले पनि राजनीतिको उत्तराद्र्धमा आफ्नो कार्यकाललाई स्मरणयोग्य बनाउनुपर्ने उनको सुझाव छ।
बीपीको राजनीति जीवनलाई बेदखल बनाउनमा श्रीमती सुशीलाको भूमिका अहं
नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ। यो आरोपको भागीदारमा हालका प्र्र्रधानमन्त्री शेरबहादुर देउवाको चर्चा सुनिन्छ। तर प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी पत्नी सुशीला एक अपवाद थिइन्, जसले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाइन्।
तर राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरिनन्। बरु दुई तिहाइ बहुमत प्राप्त दल कांग्रेसका सभापतिसमेत रहेका पति बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशनसमेत बसिन्।
अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ। हालका कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन्। बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका र प्रभाव रहेको विश्लेषण भइरहेको परिपे्रक्ष्यमा न्यूज एजेन्सी नेपालले छोरा प्रकाश कोइराला र कांग्रेसका पुराना नेता केशवनन्द जोशीलाई सोधेको छ। त्यो कुराकानीमा नेता केशवनन्द जोशीले राजासँग सुवर्णशमशेरको निकटता भएकाले प्रधानमन्त्री र पार्टी सभापतिमा छाडिदिन आग्रह गरेको बताए। बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छाडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि उनको भनाइ छ।
सुवर्णशमशेर राणा परिवारका निकट सदस्यको रूपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाइ पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छाडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताए।
नेता जोशीले भने, ‘मैले सुनेअनुसार सुशीला भाउजुले बीपीलाई बारम्बार छाडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्णशमशेरको राजासँग निकट छ। उहाँलाई छाडेर तपाई पार्टी संगठनलाई बलियो बनाउन लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ।’
त्यस्तै, तत्कालीन समय कांग्रेस पार्टीले दुई तिहाइका साथ जिते पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा बीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोइरालाले बताए।

पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा कोइराला परिवारबाटै गाली खाएको उनले सुनाए। बीपीले आमाको प्रधानमन्त्री नबन्ने प्रस्ताव कोइराला परिवार कसैलाई चित्त नबुझेको स्मरण गरे। बीपीले आमाका सबै कुरा सुन्ने गरे पनि निर्णय आफ्नै लिने गरेको उनको भनाइ छ। बीपीले प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिबद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम गरेको उनले दाबी गरे।
उनले भने, ‘चुनावमा पार्टीले दुई तिहाइ मतका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो। त्यो अवस्थाले मेरी आमालाई एकदमै चिन्तित बनाइरहेको थियो। बीपीलाई सरकार चलाउन पार्टीभित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो। त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म बीपीले जति पनि नाम र इज्जत कमाउनुभएको छ, त्यो पनि मेटिएर जान सक्छ भन्ने डर आमालाई थियो। एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो भने अर्कोतिर कांग्रेसभित्रैबाट पनि बीपीलाई असहयोग हुने गाइँगुइँ चलेको थियो।
त्यसैले मेरी आमाले पटक–पटक बाबालाई तपाईं प्रधानमन्त्रीमा दाबी नगर्नुस्। सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो। मेरी आमाको त्यस्तो अडान कोइराला परिवारका धेरै सदस्यलाई चित्त बुझेको थिएन। सबै बीपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। सुशीलाले के यो नचाहिने अड्डी लिएकी भन्ने उहाँहरूको बुझाइ थियो। बाबाले आमाको कुरा राम्रोसँग सुन्नुहुन्थ्यो तर निर्णय उहाँकै हुन्थ्यो। अन्तिममा उहाँले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिनुभयो।’
प्रधानमन्त्री भएर देशको सेवा गर्ने बीपीको चाहनापछि सबै परिवारसँग कुरा गरेर पार्टी र देशको नेतृत्व गरेको कोइरालाले बताए।