काठमाडौं- गायक रामकृष्ण ढकालको आवाज रहेको ‘काली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ। दीपक शर्माको संगीत र चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतका एरेन्जर पुरुषोत्तम सुवेदी हुन्।
सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वयं फिचर छन् भने नम्रता श्रेष्ठ, दीपेश ढकाल र दीपेन गौतम माइकलको पनि अभिनय छ। भिडियोमा नम्रतालाई प्रेम हलुका रूपमा लिएको पात्रको रूपमा प्रस्तुत गरिएको छ। अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत व्यक्त गरिएको छ।
यो गीतका शब्दले दर्शकको मन छुने उनको विश्वास छ। उनले भने, ‘मलाई गीतको शब्द सुन्दै मन परेको थियो। संगीत उस्तै मीठो सिर्जना भयो। भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ।’
गीतकार सिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महसुस भएको बताए।
संगीतकार शर्माले गीतमा ढकालसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे। निर्देशक आचार्यले भिडियो राम्रो बन्न अडियो बलियो हुनुपर्ने तर्क राख्दै ‘काली’ गीतलाई न्याय गर्ने भिडियोमा कुनै कसर नछाडेको बताए।
त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरै पछि फरक खालको पात्रमा अभिनय गर्न पाएको सुनाइन्।