सोमबार, जेठ ४, २०८३

मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन

सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख/उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

धनगढी- धनगढीमा आयोजित धामीझाँक्री सम्मेलनमा सहभागी डोटीको तेडी कुल देवताका धामी डबल बोगटी आफूहरुको गतिविधिले समाजमा कुनै महिला/पुरुषप्रति विभेद नभएको स्पष्टीकरण दिँदै गरेको भेटिए। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उनले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गरे।

National life

आफूहरु जबरजस्ती देवताका धामी नभएको जिकिर गर्दै उनले भने, 'हामीलाई धामी भनिने गरिए पनि हामी देवताले रोजेका देवदूत हौँ, धामी होइनौँ, आ–आफ्नो संस्कार, धर्म, परम्पराभित्र रहेर सबै मानवले स्वस्थ र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध छौँ।'

'मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन' नामको उक्त सम्मेलनमा अछामलगायतका जिल्लामा महिनावारी भएका महिलाका लागि बस्न बनाइएको छाउगोठ विगतमा भत्काइएको घटना राम्रो नभएको बुझाइ धामीहरूको छ। उनीहरुले भने, 'भित्रै मनदेखि छाउगोठ भत्काएको भए देवीदेवताले पनि मान्थे होला, जबरजस्ती छाउगोठ भत्काइँदा गोठ भत्काउन सहभागी कतिपय व्यक्तिलाई देवीदेवता लागेको र सुख नभएको भन्ने सुनिएको छ।' महिला र पुरुषमा चेतनाको अभाव हुँदा समाज पिछडिनुपरेको उनीहरुको धारणा छ। 

मुगु जिल्लाको सोरु गाउँपालिका–२ को दुर्गा भवानीदेवीका धामी जगतबहादुर मल्लले कुनै पनि व्यक्ति स्व–इच्छाले देवताको धामी हुन नसक्ने र देवी प्रकट हुनसक्ने व्यक्ति मात्र धामी हुने भन्दै समाजलाई सही मार्गमा डो¥याउन आफूहरुको भूमिका रहेको बताए। 'देवीदेवता लागेर बिरामी भएको व्यक्तिलाई डाक्टरले उपचार गर्न सक्दैनन्, डाक्टरले औषधि गर्नुपर्ने बिरामीलाई धामीझाँक्रीले उपचार गर्न सक्दैनन्', उनले भने, 'एक वर्षअघि भारत र नेपालका अस्पतालमा उपचारका लागि लाखौँ रकम खर्च गरेर पनि निको नभएका दाङका एक पुरुषलाई आफूमा प्रकट भएको देवीले निको पारेको घटना ताजै छ।' उनले अहिलेको परिवर्तनशील युगमा देवीदेवताको कानून र देशको संविधान दुवैलाई मानेर धामीझाँक्रीले आफ्ना गतिविधि गर्न जरुरी भइसकेको बताए।

परम्परागत स्वास्थ्य सेवा प्रदायकका रूपमा धामीझाँक्रीहरूले समाजमा भूमिका निर्वाह गर्दै आएको परिप्रेक्ष्यमा उनीहरुको सहभागितामा धनगढीमा सम्मेलन गरिएको हो। सम्मेलनमा मर्यादित महिनावारीको विषयमा छलफल हुन लागेको छ। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले सम्मेलनमा मर्यादित महिनावारीका साथै जनस्वास्थ्यका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, 'महिनावारी भएको महिलाले पाँच दिनसम्म शुद्ध, स्वस्थ र सुरक्षित रहेर बस्नुपर्छ भन्ने हो, आफू गलत काम र व्यवहार गर्ने मान्छेले दोष देवीदेवतालाई लगाउनु राम्रो होइन।' 

महिनावारीका बेला अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका महिला तथा किशोरीहरु बढी जोखिमा रहने गरेको बताइन्छ। सूचना र प्रविधिको विकाससँगै रीतिरिवाज, परम्परा, संस्कारभित्रका अशोभनीय गतिविधि एवं व्यवहारमा सकारात्मक परिवर्तन भइरहेको देखिए पनि कतिपय समाजमा अन्धविश्वास र कुसँस्कार पूर्णरूपमा हट्न सकेको छैन। धामी झाँक्रीहरुले स्वास्थ्य उपचारका क्षेत्रमा नमूनाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न गराउन टेवा पुर्‍याउन सकुन् भन्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको भनाइ आयोजक संस्थाको छ।  

निश्चित समय पुगेपछि महिला तथा किशोरीहरु महिनावारी हुने प्रक्रियालाई प्राकृतिक हो। महिनावारी भएको बेला महिला तथा किशोरीलाई घरपरिवारले शौचालय प्रयोग गर्न नदिने, दूध तथा अन्य पोषिलो खाने कुरा खान नदिने, परिवारभित्र सुत्न नदिई सुत्नका लागि छुट्टै व्यवस्था गर्ने, विद्यालयमा व्यवस्थित शौचालय र पानीको व्यवस्था नहुने, महिनावारी हुने किशोरी विद्यालय जान नहुने जस्ता व्यवहार एवं चुनौती विद्यमान छन्। जसका कारण महिनावारी भएका किशोरी तथा महिलाहरुले आफ्नो स्वास्थ्यमा हानी पुग्ने विभिन्न किसिमका अप्ठ्यारा एवं चुनौतीहरु सामना गर्नुपरेको छ। महिनावारी भएको बेला कतिपय ठाउँमा खानपान, बस्ने ठाउँ, सरसफाइ स्वच्छतालगायतमा विभिन्न प्रकारका बन्देज लगाइन्छ। 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तीन दिने उक्त सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख/उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन्। संस्थाले दुई दशकदेखि विपन्न वर्ग खास गरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रमा काम गर्दै आएको छ।

प्रकाशित: Jul 22, 2022| 06:05 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।