नयाँदिल्ली- भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। आदिवासी समूहबाट पहिलो पटक भारतको राष्ट्रपतिमा निर्वाचित भएर मुर्मुले इतिहास बनाएकी हुन्।
मंगलबार भएको निर्वाचनमा मुर्मुले ५० प्रतिशत मत कटाएसँगै राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। राष्ट्रपति बन्नका लागि आवश्यक ५ लाख ७७ हजार ७७७ मतभार ल्याएसँगै उनी निर्वाचित बनेकी हुन्। तेस्रो चरणको मतगणना जारी रहेकाले आधिकारिक रूपमा उनी निर्वाचित भएको घोषणा हुन भने बाँकी छ। मुर्मुका प्रतिस्पर्धी यशवन्त सिन्हाले २ लाख ६१ हजार ६२ मतभार पाएका छन्। राष्ट्रपति चुन्नका लागि योग्य सबै मतदाताले मतदान गर्दा १० लाख ८६ हजार ४३१ मतभार हुन्छ।
भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुको घरमा नै पुगेर बधाइ दिएका छन्। राष्ट्रपति चयनका लागि ७७१ संघीय सांसद र ४ हजार २५ राज्यसांसदले मतदान गर्न पाउने व्यवस्था छ। यसमध्ये ९९ प्रतिशतले मतदान गरेको बताइएको छ। यद्यपि सांसदहरूको मतभार राज्यअनुसार फरकफरक हुने व्यवस्था छ।
झारखण्डकी गभर्नर भइसकेकी राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीया मुर्मु पूर्वशिक्षकसमेत हुन्।
नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाई दिएका छन्। देउवाले बिहीबार ट्विट गर्दै बधाई दिएका हुन्।
‘नेपाल सरकार र जनताका तर्फबाट म श्रीमती द्रौपदी मुर्मूलाई भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु, नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाइ लिनेछ भन्नेमा म विश्वस्त छु,’ देउवाको ट्विटमा उल्लेख छ।