काठमाडौं- भारतीय विदेश मन्त्रालयले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण दुई दलबीचको आपसी भ्रमण भएको टिप्पणी गरेको छ। भारतीय जनता पार्टी र नेकपा माओवादी केन्द्रबीच 'पार्टी टु पार्टी' भिजिट भएको मन्त्रालयका प्रवक्ता अरिन्दम् बाग्चीले बताएका हुन्।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने ‘भ्रमणमा भएका छलफलका विषयमा मैले टिप्पणी गर्नसक्ने अवस्था छैन। यो दुई राजनीतिक दलबीचको भ्रमण आदानप्रदान हो।'
प्रचण्ड तीन दिने भारत भ्रमणका लागि असार ३१ गते भारत भ्रमणमा गएका थिए। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरेका थिए। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भारत पुगेका प्रचण्डले भाजपा मुख्यालयमा उनीसँग भेट गरेका थिए।’
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने तय भएपनि अन्तिम समयमा रद्द भएको थियो। स्वदेश फर्केपछि प्रचण्डले मोदीसँगको भेट तय भएपनि अन्तिम समयमा रद्द भएको तर त्यको कारणबारे आफूलाई कुनै जानकारी पनि नभएको र तनाव पनि नरहेको बताएका थिए।