काठमाडौं- समाजवादी केन्द्रले आफूहरू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको छ। केन्द्रका सर्वोच्च नेता युवराज सफलले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच नेकपा समाजवादी केन्द्र निर्माण गर्ने विषयमा छलफल भएकाले यदि समाजवादी केन्द्र निर्माण भए आफूहरू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
'समाजवादी केन्द्र गठन बारे छलफल भएको भन्ने समाचार एकदमै सकारात्मक र ऐतिहासिक भएको समाजवादी केन्द्र नेपालको ठहर रहेको छ,' युवराज सफलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'माथि उल्लेखित व्यक्तिहरु मध्येबाट सर्वोच्च नेता, उच्च नेता र नेता रहने तथा दोस्रो पुस्ताबाट पदाधिकारी रहने गरी समाजवादी केन्द्र नेपालको संचालन हुने गरी समाजवादी केन्द्र नेपालको नेतृत्व बुझाउन तयार रहेको कुरा यसै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्न चाहन्छु।'
उनले आजभोलि नै योग्य व्यक्तिलाई समाजवादी केन्द्र नेपालको नेतृत्व सुम्पन तयार रहेको जानकारी गराएका छन्। डा बाबुराम भट्टराईले समाजवादी केन्द्र निर्माणबारे राखेको अडान तथा प्रस्तावप्रति केन्द्रले आभार प्रकटसमेत गरेको छ।