काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पदबाट बुधबार राजीनामा दिए। त्यसलगत्तै उनी क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए।
‘यो मेरो प्रशिक्षणको कठिन निर्णय हो। म भावुक छु। नेपाली क्रिकेटबाट टाढा हुने विषयले निकै भावुक छु। अब मेरो परिवारको हेरचाह गर्छु। उनीहरूलाई मेरो आवश्यकता छ। यदि मैले काम गरें भने अब क्यानडामै गर्छु’, बुधबार राजीनामा दिँदै पुबुदुले भने, ‘मलाई थाहा छ, सबै कुरा मिलाउन सकिनँ। तर जति सक्थें, गरें। अहिले नेपाली क्रिकेट टिम राम्रो छ। क्यानले यसैलाई निरन्तरता दिने सोच्नुपर्छ,’ पुबुदुले पत्रकार सम्मेलनमा थपे।
उनले नेपाली क्रिकेटको प्रशिक्षक सम्हाल्नुअघि टिममा एकता नभए पनि अहिले सबै राम्रो भएको बताए। उनले भने, ’जब म आएँ। टिममा एकता थिएन तर अहिले लगभग ९५ प्रतिशत एकता छ। अहिले टोलीमा भएको समस्या बाँकी छैन। सन्दीप कप्तानको रूपमा निखारिँदै छन्। युवा छन्। केही समयभित्रै यो टोली एसोसिएटमा उत्कृष्ट बन्ने विश्वास छ। तर दुःख यो मानेमा छ कि म टोलीसँग हुने छैन।’
उनले अन्तिममा नेपाली समर्थकलाई सम्बोधन गर्दै नेपाली क्रिकेटको धेरै सम्भावना रहेको सुनाए। टोलीलाई साथ दिनुहोस् र विश्वास गर्नुहोस्। आगामी दिनमा यो टोलीले नेपालीलाई धेरै खुसी दिनेछ।
उनी दोस्रो पटक नेपालको मुख्य प्रशिक्षककमा नियुक्त भएका थिए। गत वर्ष पुनः नेपाल फर्किएका उनले छोटो समयमै फेरि नेपाल छाडेका छन्। विभिन्न असफलता तथा टिमको कमजोर प्रदर्शनका कारण टिमले राम्रो नतिजा ल्याउन नसकेपछि उनले राजीनामा दिएका हुन्। अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुन नसक्नु तथा विश्वकप लिग–२ मा लगातार खराब प्रदर्शन गर्नुजस्ता कारणले उनलाई पदबाट राजीनामा दिन दबाब थियो। पछिल्लो समयको प्रदर्शनलाई लिएर समर्थकले पनि उनको आलोचना गरिरहेका थिए।
नेपाली क्रिकेटको लगातारको असफलता तथा टिमको कमजोर प्रदर्शनका कारण राम्रो नतिजा ल्याउन नसकेपछि पुबुदुमाथि राजीनामाको दबाब थियो।
पुबुदुलाई दोस्रोपटक नेपाल ल्याउनुको मुख्य उद्देश्य भनेको फरि पनि नेपाललाई टी–२० विश्वकपमा पु¥याउनु थियो। सबैले फेरि पनि विश्वकप खेल्ने सपना देखेका थिए। तर यस पटक पनि त्यो सपना पूरा हुन सकेन। नेपालले छनोट खेलमा राम्रो प्रदर्शन नगरेको होइन। नेपाल आफ्नो समूहमा अपराजित रहँदै राम्रो लयमा थियो। विश्वकपबाट एक कदम टाढा थियो। तर निर्णायक खेलमा युएईसँगको ६८ रनको पराजय नेपाली क्रिकेट टोली तथा समर्थकमाझ भारी भयो। मुख्य उद्देश्य नै पूरा नभएपछि पुबुदुमाथि मानसिक दबाब तथा तनाव हुनु स्वाभाविकै थियो। यद्यपि उनीमाथि अझै एउटा मौका थियो– विश्वकप लिग–२ मा प्रदर्शन सुधार गर्दै नेपाललाई जित दिलाउने। त्यहाँ पनि उनी नमिठोसँग चुक्न पुगे। यसले गर्दा उनको नेपाल बसाइँ सहज नहुने आकलन गरिँदै थियो।
नेपालली टोलीमा नियुक्त हुने सबै प्रशिक्षकको मुख्य चुनौती भनेकै ब्याटिङ हो। उनको प्रशिक्षण कालमा नेपाली ब्याटिङ चल्न सकेन। नेपालले हारेका अधिकांश खेलको मुख्य कारण ब्याटिङ नै थियो। विश्वकप लिग–२ मा अमेरिका तथा स्कटल्यान्ड भ्रमणमा रहँदा पनि नेपालले खराब ब्याटिङ गरेको थियो। टोलीमा नयाँ तथा अनुभव कम भएका खेलाडीका कारण ब्याटिङमा सुधार नआएको हो। नेपाली टोलीमा एकता अभाव छ, जसले गर्दा पनि नेपालको प्रदर्शनमा असर परेको हो।
नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल मानिएका प्रशिक्षक पुबुदुको दोस्रो कार्यकाल भने सम्झनलायक रहेन। दासानायकेको पहिलो कार्यकालको प्रशिक्षणमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो।
उनी यस्तो समय नेपाल आएका थिए, जुन बेला नेपाली क्रिकेटको सामान्य अवस्थामा थिएन। क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उप–कप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो। क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त ग¥यो। त्यसपछि केही खेलाडीले प्रशिक्षणै छाडेका थिए भने केही सन्दीपको पक्षमा उभिए। त्यस समय पुबुदु कारबाहीमा परेका विवादित खेलाडीको पक्षमा केही नबोली क्यानको पक्षमा लागे। त्यसपछि स्वाभाविक उनले खेलाडीको साथ पाएनन् र टिम एकता पनि कमजोर भयो।
पुबुदुको नेतृत्वमा नेपालले एउटा त्रिकोणात्मक टी–२० शृंखला र जिम्बावे ए टोलीविरुद्धको अनअफिसियल टी–२० शृंखला जित्यो। उनको कार्यकालमा नेपालले लिग–२ मा तीन सिरिज खेल्यो। यसमध्ये नेपालले मात्र चार खेल जित्यो, एक खेल बराबरी खेल्दा सात खेलमा पराजित भयो। नेपालको ओडीआई मान्यता पनि अहिले संकटमा छ। लिग–२ मा २० खेल खेलेको नेपाल मात्र आठ खेल जितेर १७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ। ओडीआई मान्यता जोगाउन कम्तीमा पनि शीर्ष पाँचमा रहनु अनिवार्य छ। आईसीसीले ओडीआई मान्यताको आधिकारीक खाका सार्वजनिक गरेको छैन। तर हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले ओडीआई मान्यता पाउने बताइएको छ। नेपालले अब लिग–२ मा १६ खेल खल्न बाँकी छ।
नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल मानिएका प्रशिक्षक पुबुदुको दोस्रो कार्यकाल भने सम्झनलायक रहेन। दासानायके तिनै नेपाली प्रशिक्षक हुन्, जसको पहिलो कार्यकालमा नेपालले इतिहासमा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। त्यसबेला सन् २०११ देखि सन् २०१५ सम्म डिभिजन चारदेखि डिभिजन दुईसम्मको यात्रा तय गरेको थियो।