काठमाडौं– गृह मन्त्रालयले सरकारी बिदाका दिन राष्ट्रिय झन्डा फरफराउँदै गुड्ने सरकारी सवारी साधनलाई अवरोध नगर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ।
राष्ट्रिय झन्डा भएका निजी सुरक्षा अधिकृत (पीएसओ) बोकेर हिँड्ने र सुरक्षा निकायका लागि पास आवश्यक नपर्ने भएकाले ती गाडीलाई अवरोध नगर्न परिपत्र गरिएको मन्त्रालयका सह–सचिव प्रदीप कोइरालाले बताए।
गत शनिबार भूमि सुधारमन्त्री शशी श्रेष्ठ चढेको गाडीलाई धरानको भानु चोकमा स्थानीयले सार्वजनिक बिदाको दिन गुडाएको भन्दै रोकेका थिए।
विभिन्न स्थानमा सरकारी बिदाका दिन सार्वजनिक सवारी चलाउँदा चाबी खोसेर हैरानी दिएको सूचना आएको मन्त्रालयले बताएको छ। एम्बुलेन्स, वारुणयन्त्रलगायतका गाडीलाई चेकजाँचका नाममा लामो समयसम्म नअड्काउन पनि गृहले पत्र काटेको छ।