काठमाडौं– पार्टीबाट कारबाहीमा परेर नयाँ राजनीतिक दल निर्माणमा लागेका तत्कालीन संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ। भेटमा माओवादी अध्यक्ष दाहालले नेता बाबुरामसँग समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका छन्।
बिहीबार बिहान ललितपुरमा दुई नेताबीच कम्युनिस्ट पार्टीहरूबीचको पछिल्लो घटनाक्रमबारे छलफल भएको बुझिएको छ। बाबुरामले पछिल्लो समय दाहालसँगको भेटलाई बाक्लो बनाएका छन्। यसअघि गत सोमबार भएको भेटमा भट्टराईले माओवादीमा आफू नफर्किने बरु सबै कम्युनिस्टहरू एउटै ध्रुवमा अट्ने गरी त्यस्तै कुनै नयाँ पार्टी गठन गर्नुपर्ने मत दाहालसमक्ष राखेका थिए।
भट्टराई मूल घर नफर्किने अडानमा टसमस नभएपछि दाहालले समाजवादी केन्द्रमार्फत अघि बढ्ने प्रस्ताव राखेका हुन्। ‘बिहीबार बिहान अध्यक्ष र बाबुरामबीच छलफल थियो। अध्यक्षले नयाँ केही प्रस्ताव राख्नुभएको हुन सक्छ। उहाँको प्रस्तावबारे पार्टीमा समेत छलफल हुनेछ,’ नेता हरिबोल गजुरेलले भने।
नेता भट्टराईको सचिवालयले पनि समाजवादी केन्द्रको प्रस्तावमा छलफल भइरहेको बताएको छ। प्रचण्डले समाजवादी केन्द्रको नामअघि नेकपा राख्नुपर्ने अडान राखिरहेका छन्। भट्टराई भने नेकपा राख्न तयार नभएको दाहालको सचिवालयले जनाएको छ। ‘अध्यक्षले समाजवादी केन्द्र अगाडि नेकपा राखौं भन्ने प्रस्ताव राख्नुभएको छ। बाबुराम त्यसमा सहमत देखिनुभएको छैन,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने।
चुनावअघिनै समाजवादी केन्द्र निर्माण गरेर अघि बढ्ने रणनीति दाहालको छ। गत सोमबार नेकपाकालीन सचिवालयका पाँच सदस्यको बैठकले पनि वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। यसका निम्ति संयोजन समिति गठन गरेर गृहकार्य थालिइसकेको छ। समितिले एकताका सिद्धान्त आधार र एजेन्डा तयार गर्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताए।