काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
दोस्रो कार्यसमिति बैठकका लागि १८ एजेन्डामा छलफल गरी निर्णय गर्ने तयारी गरिएको थियो। एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी शुरु भएपनि एजेन्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए।
पहिलो पटक एजेन्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो। यसअघि गत सोमबारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो। निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचित परेको नयाँ नेतृत्त्वको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
बैठकका लागि विभिन्न एजेन्डा तय भएपनि छलफल भने भागबन्डामा केन्द्रित हुने देखिएको छ। प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ।
चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए। साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो।