काठमाडौं– आई लभ यू, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेंलगायत दर्जन बढी गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन्। विशेषगरी पप गायनमा सक्रिय अनिलले यस पटक देउडा गीत गाएका हुन्।
म्युजिक स्टेटमार्फत अनिलकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनकै अभिनय छ। गीतमा अनिलसँगै इटालियन मोडल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन्।गीतको भिडियोमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ। म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको यो गीतमा रिदमराज जोशीको शब्द रहेको छ।
झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतमा नझुम्ने कमै थिए। अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन। तत्कालीन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए किनकि उनको गीतमा रम्नेमा युवा पुस्ता धेरै थिए।
केही समय संगीतबाट विश्राम लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन्। उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यू २ गीत छिट्टै दर्शकसमक्ष ल्याउँदै छन्। उनले आफ्नो हिट गीतको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दै छन् ।
यस पटक उनले आफ्नै हित एल्बम ’द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम ९ तयार गर्न लागेका हुन्। ‘गीत–संगीतसँगै अन्य काम पनि छन्। सबै योजनाअनुसार नै अगाडि आउनेछन्,’ अनिलले भने। उनले गीत–संगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको बताए।
‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ’, अनिलले भने। उनले युरोप र दुबईमा छिट्टै कन्सर्ट गर्दै छन् भने क्यानडा र अस्ट्रेलियाका लागि पनि तयारी छ।