पोखरा- पोखराका मेयर धनराज आचार्यले आफूसँग ४३ करोड ६१ लाखभन्दा बढी सम्पत्ति भएको विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार उनीसँग ५ तोला हीरा, ५४ तोला सुन, ३८ तोला चाँदीसहित १५ लाख रुपैयाँ नगद छ।
विवरणमा पोखरा र काठमाडौं महानगरका चार स्थानमा घरजग्गा छ। पोखरा-९ मा २८९ वर्गमिटर क्षेत्रफलमा ९ करोड २५ लाख रुपैयाँका दुई वटा घर छन्। ती दुवै घर उनकी श्रीमती पुष्पाकुमारी पौडेल आचार्यका नाममा छन्। श्रीमतीकै नाममा काठमाडौं सीतापाइलामा १ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको घर ९२५ वर्गफिटको जग्गामा छ।
पोखरा महानगरपालिका–११ मा मेयर आचार्यकै नाममा २ कित्ता जग्गा र घर छ। मेयरकै नाममा दोलखामा ५८ रोपनी ७ आना जग्गा छ। २ वटा कार, एक भ्यान र तीन वटा स्कुटर पनि आफूसँग भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ। यी सवारीको मूल्य २ करोड रुपैयाँ बराबर छ।
मेयर आचार्य सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रोका प्रमुख सञ्चालकसमेत हुन्। उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा सेयर छ। आफूलाई दुई करोड ८५ लाख रुपैयाँ ऋण रहेको उनको विवरणमा लेखिएको छ।