काठमाडौं- जनअधिकार सुनिश्चितताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन्। जनसरोकार अभियानद्वारा काठमाडौंमा आयोजित ‘सङ्घीयता : भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा संघीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा संघीयता स्थापना भएको बताएका हुन्।
कार्यक्रममा लेखक तथा राजनीतिक विष्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण सङ्घीयताबारे भ्रम उठ्न खाजेको बताउँदै सङ्घीयता देशको आवश्यकता भएको बताए। उनले जनताका सेवा सुविधालाई गाउँगाउँमै सहजरूपमा पुर्याउनका लागि संघीयताको महत्व बढी रहेको बताए। उनले जनसहभागिता हुने उच्च खालको व्यवस्था नै सङ्घीयता भएको र पहिचान, संस्कृति, मूल्य मान्यताका कारण उक्त व्यवस्था आजको आवश्यकता भएको बताएका छन्।
बहसमा सहभागी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताए। उनले २०-२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विष्लेषण गर्नुपर्नेमा जोड थियो। संघीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्षरुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शीता निर्माण गर्न सकिएको उहाँको भनाइ थियो। उहाँका अनुसार मुलुकमा अहिले सुशासनको प्रत्याभूति दिलाएको पनि बताए।
उक्त कार्यक्रमका संयोजक अनिल शर्माले सङ्घीयताका सवालमा देखिएको भ्रम निवारणका लागि यसरी कार्यक्रम आयोजना गरिएको बताए। उनले संघीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताए।
जनसरोकार अभियानका अभियन्ता सविन सिग्देलले संघीयताबारे युवा वर्गमा उब्जिएको भ्रम चिर्न उक्त कार्यक्रम गरिएको बताए। तीन वर्षअघि सक्रिय रहेको अभियानले राष्ट्रिय पहिचानका विषयमा निरन्तर बहस चलाउँदै आएको पनि सिग्देलले जानकारी दिए।