इंग्ल्यान्ड- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरे छ। लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० गोलले पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो।
लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले एक–एक गोल गरे। सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको थियो।
४५ औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि-बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएको थियो । जसमा जेम्स मिल्नर चुकेनन् र पहिलो हाफमा लिभरपुलले खेलमा १–० को अग्रता बनायो।
दोस्रो हाफमा पनि लिभरपुलले खेलमा पकड जमाएपनि गोल गर्नको लागि ९० औं मिनेट नै कुर्नुपरेको थियो। दोस्रो हाफको इन्जुरी समयमा सलाहको पासमा मानेले गोल गर्न सफल भए।
खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको लिभरपुलले पहिलो खेलमा वेस्टह्याममाथि ४-० को प्रभावशाली जित निकालेको थियो। जितसँगै लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ। म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४