काठमाडौं– स्कटल्यान्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। स्कटल्यान्डमा नेपालले चार खेल खेल्यो। स्कटल्यान्ड भ्रमण गर्नुअघि नेपाली क्रिकेट टोली तयारीका लागि क्यानडा गएको थियो। क्यानडामा पनि नेपालले चार खेल खेल्ने तालिका थियो।
तर एक खेल वर्षाले अवरुद्ध भएपछि नेपालले तीन खेल मात्र खेल्यो। फितलो तयारीमै स्कटल्यान्ड निस्किएको नेपालले राम्रो नतिजा भने ल्याउन सकेन। नेपालको लक्ष्य थियो, कम्तीमा तीन खेल जित्ने। तर नेपाल तीन खेलमा पराजित हुन पुग्यो। यसको कारणचाहिँ फितलो तयारी र खराब ब्याटिङलाई मानियो। यी कारणले नेपाल पराजित भयो। यदि नेपाली क्रिकेटरले आफ्नो प्रदर्शन सुधार्न नसके नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना फेरि पूरा नहुन सक्छ।
तालिकाको छैटौं स्थानमा रहेको नेपाल अब कायमै रहेको एकदिवसीय मान्यता जोगाउन संघर्षरत स्थितिमा छ। तर स्वदेश फर्किएको नेपाली टोलीले एकदिवसीय मान्यता कायमै रहनेमा कुनै शंका नरहेको दाबी गरेको छ। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके (बुधबार राजीनामा दिए) ले नेपाल शीर्ष तीनमा रहेन नसके पनि कम्तीमा शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यतालाई जोगाइने बताए। उनले भने, ‘नेपालले एकदिवसीय मान्यता गुमाउँदैन। यो कुरा म अहिल्यै भन्न सक्छु। नेपालले अझै १६ खेल खेल्न बाँकी छ। हामी शीर्ष ३ मा पर्ने सम्भावना अझै कायमै छ। त्यो नभए पनि शीर्ष पाँचभित्र पर्नेछौं।’
यद्यपि नेपाल अझै शीर्ष तीनमा पर्ने सम्भावना समाप्त भइनसकेको उनको दाबी थियो। टिममा नयाँ युवा खेलाडी धेरै भएका र उनीहरूसँग कम अनुभवका कारण टिमले राम्रो प्रदर्शन गर्न नसकेको उनको बुझाइ छ। ‘हामीले खेलमा राम्रो गर्न नसक्नुको मुख्य कारण टोलीमा युवा ब्याट्सम्यान धेरै थिए। सोही कारण उनीहरूसँग अनुभवको कमी थियो। विस्तारै अब उनीहरूले पनि धेरै कुरा सिक्दै गएपछि टिममा यस्तो समस्या नआउनेमा विश्वस्त छु।’
उनले टिममा एकता नभएको भन्ने कुरालाई पनि खण्डन गरे। टिममा पूर्ण एकता भएको र यसमा प्रश्न उठाउने ठाउँ नरहेको उनले बताए। ‘अहिले टिममा पूर्ण एकता छ। यसमा प्रश्न गर्ने ठाउँ छैन। म पहिले आउँदा टिममा एकताको समस्या भए पनि अहिले त्यसको समाधान भइसकेको छ। अहिले टिम ‘वान टिम वान गोल’ को रूपमा अघि बढेको छ।’
कप्तान सन्दीप लामिछाने टिमको प्रदर्शनबाट दुःखी भएको बताए। स्कटल्यान्ड भ्रमण आफूले सोचेजस्तो नभएको उनको धारणा छ। प्रशिक्षक पुबुदुजस्तै लामिछाने पनि नेपालको अबको लक्ष्य एकदिवसीय जोगाउनु रहेको बताउँछन्। उनले भने, ‘अबको हाम्रो लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नु हो। यसमा सफल हुने विश्वास छ। ८ खेल घरेलु मैदानमा रहेको र पपुवान्युगिनीजस्तो टिमसँग रहेकाले थप सहज हुनेछ। हामीले जे सोचेर गएका थियौं, जुन तयारीका साथ गएका थियौं, एउटा टोलीको रूपमा असफल भयौं।’
पछिल्लो समय नेपालको हारको मुख्य कारण कमजोर ब्याटिङ नै रहेको उनले स्वीकारे।
अझै आधा शृंखला बाँकी
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जम्मा ३६ खेल खेल्नेछ, जसमा नेपालले चार शृंखलाको १६ खेल खेल्न बाँकी छ। नेपाल २० वटा खेल खेलेकामा ८ मा जित र ११ हारका साथ १७ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। नेपाल पाँचौं स्थानको नामिबियाभन्दा मात्र एक अंकले पछि छ। यसले गर्दा नेपाललाई शीर्ष पाँचमा पर्न त्यति असहज भने देखिँदैन। त्यस्तै, नेपाल चौथो स्थानको अमेरिकाभन्दा पाँच अंकले पछि छ।
त्यसमाथि अमेरिकाले नेपालभन्दा चार खेल खेलिसकेको छ। गणितीय रूपमा हेर्ने हो भने नेपाल अझै पनि शीर्ष तीनमा रहने सम्भावना कायमै छ। तर नेपालले आफ्नो प्रदर्शनलाई सुधार्न आवश्यक छ। नेपालले सहभागी सबै ६ टोलीसँग एक शृंखला खेलिसकेको छ। इसले गर्दा नेपाललाई विपक्षीबारे धेरै कुराको जानकारी छ। त्यसपछि मात्रै अब नेपालले ती टोलीविरुद्ध खेल्न केही सहज हुनेछ। नेपालले अब पपुवान्युगिनीविरुद्ध पनि खेल्न बाँकी छ। तुलनात्मक रूपमा पपुवान्युगिनी नेपालभन्दा कमजोर टोली हो। यसले गर्दा नेपाललाई अंकतालिकामा अंक जोड्ने अवसर छ।
घरेलु पिचको फाइदा उठाउने मौका
नेपालले खेल्न बाँकी रहेका चारमध्ये दुई सिरिज नेपालमै हुनेछ भने बाँकी दुई सिरिज बाहिर हुनेछ। अर्थात्, आधा खेल घरेलु मैदानमै हुनेछन्। यसले गर्दा नेपालले आफ्नै पिचको फाइदा उठाउन सक्नेछ। बाहिर खेल्नुभन्दा आफ्नै घरेलु मैदानमा खेल्न धेरै सहज हुनेछ।
नेपाल, स्कटल्यान्ड र नामिबिया र नेपाल, युएई र पपुवान्युगिनी सम्मिलित एक–एक शृखंला नेपालमा हुनेछ। पपुवान्युगिनी तालिकाको पुच्छारमा रहेको टिम हो। उसले २० खेल खेल्दा अहिलेसम्म एक खेल मात्रै जितेको छ। उसको शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ।