काठमाडौं– ‘नेपालमा वामपन्थी पार्टीहरू छन् भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छाड्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेको कुरा हो, यो।
‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले साइन बोर्ड झुन्ड्याउँदैमा कोही पनि वामपन्थी नहुने जिकिर गरे। ओलीको संकेत कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित थियो। सोही कार्यक्रममा नेता श्रेष्ठले तालमेल गरेर अघि नबढे वामपन्थीहरू सिद्धिने पक्का भएकाले अध्यक्ष ओलीलाई वाम उठबसको नेतृत्व लिइदिन अनुनय–विनय गरेका थिए।
उनले विगतमा बहुमतको सरकार कम्युनिस्टहरूकै घरझगडाका कारण गुमेकाले ओलीलाई तँभन्दा म ठूलो भन्ने अहं त्यागेर आत्मसमीक्षा गर्नसमेत सुझाए। विचार गोष्ठीमा नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थी भएको दाबी गर्नसमेत भ्याए। उनले उबेला भनेका थिए, ‘तर अहिले वामपन्थीले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको संकेत देखिँदै छ। वामपन्थीबीच तालमेल नभए पनि निर्वाचनमा कम्युनिस्टहरूलाई जिताउन तपाईं (ओली) ले मोर्चा निर्माणको पहल गर्नुपर्यो।’
वामपन्थी एकताका लागि वाम पार्टीभित्र रहेका गल्ती–कमजोरीको आत्मालोचना सबै कम्युनिस्टहरूले गर्नुपर्ने र त्यसमा ओलीले नाइँ भन्न नहुने नेता श्रेष्ठले बताएका थिए। ३२ असारको कार्यक्रममा अध्यक्ष ओलीले नारायणकाजीलाई अघाउन्जेल जवाफ दिए। ‘कोही वामपन्थी भए गठबन्धन छाडेर हामीतिर आउनुपर्छ, तपाईं पनि आउनुस्। एमालेबाहेक अरू (तपाईंहरू) वामपन्थी होइन। वामपन्थी भएको भए कांग्रेससँग लहसिएर एमालेलाई सत्तोसराप गर्दै हिँड्नु हुन्नथ्यो। कांग्रेस सरकारमा सहभागी हुनुभयो, स्थानीय तह निर्वाचनमा एमाले हराउने कथित पाँच दलीय गठबन्धनको अस्त्र फ्याँक्नुभयो,’ ओलीले गुनासाका पोका सविस्तार खोतले।

ओलीले अगाडि भने, ‘साइनबोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी हुँदैन। चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ?’ कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालतमा रिट हाल्न गएको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले राफसाफ कुरा गर्न, गल्ती भइहाल्यो, छाडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर सरकार बनाऔं भनेर नेता नारायणकाजीलाई सम्झाए।
ओलीले राजनीतिक भेटघाट होस् वा अन्य कार्यक्रममा आप्mनो सरकार गिराउन सहयोगी भएको, बहुमतलाई धारेहात लगाएको, विचार र दर्शन नमिल्ने कांग्रेससँग गाँसिन गएको भन्दै कम्युनिस्टहरूप्रति कटाक्ष गर्दै आएका छन्। ओली कटाक्ष एक मानेमा सही पनि छ किनभने हुँदाखाँदाको बहुमतको सरकार गर्लम्मै ढल्यो। स्थानीय तह निर्वाचनमा दोस्रो दलमा झर्नुपर्यो। पार्टी निकटहरूलाई दिइएको राजदूतदेखि राजनीतिक नियुक्तिसम्म देउवा सरकारले खोसिदियो। पछिल्लो समय एम अधिकारीको लफडामा ओली सरकारले नियुक्त गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेत मुछिएका छन्।
बहुमतको आफ्नै सरकार ढलाएर विचार र सिद्धान्त नमिल्ने कांग्रेससँग लसपस हुने वामपन्थीहरू कम्युनिस्ट नै नभएको दाबी ओलीको छ।
३ वर्षसम्मको कार्यकालमा ओलीले प्रशासनिक संयन्त्रदेखि रकमकलमको हिसाब आउने सरकारी अड्डा आफू मातहतमै राखिरहे। सत्ता गुम्दाको पीडा र स्थानीय निर्वाचनमा हार्नुको छटपटीले ओलीमा एमालेबाहेक अन्य वामपन्थी दलहरूप्रति वितृष्ण बढेको बढ्यै छ। कहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर तीर चलाउँछन् भने कहिले आप्mनै पार्टीबाट चोइटी गएको नेकपा एसका अध्यक्ष नेता नेपाललाई कटाक्ष गर्छन्। भाषणबाजीमा तुक्का पोख्न माहिर मानिने ओलीले कार्यक्रममा सहभागीलाई सन्तुष्टि त दिन्छन् नै, उनको विचार समाचारका हेडलाइनमा पनि छ्याप्छ्याप्ती छापिइरहन्छन्।
ओली वामपन्थी एकता गर्नु भनेको फेरि कम्युनिस्ट पार्टीहरू फुटाउनु रहेको दाबी गर्छन्। बुधबार मात्रै बागमतीका १४ सय कार्यकर्तालाई निर्वाचन लक्षित प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले वामपन्थी एकताप्रति नोकझोक देखाए। वामपन्थी एकता अभियानलाई ओलीले अर्को फुटको पूर्वाभ्यास भने।
ओलीले वामदेव गौतमप्रति लक्षित गर्दै भने, ‘फेरि केहीले वाम एकता अभियान चलाउन थालेछन्। यो अभियान केका लागि? अर्को फुटका लागि हो?’ विचारै नभएकाहरूले वाम एकताको राग अलाप्न थालेको ओलीको दाबी थियो।
बागमती प्रदेशस्तरीय नेता, कार्यकर्ता भेलामा सरकारबाहिर रहनुपरेको छटपटीमा ओली आक्रोश प्रस्टै देखिन्थ्यो। उनले भने, ‘राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ। आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ। हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचेजस्तो परिणाम आएन। वाम एकतासेकता होइन, एमाले बलियो हुने गरी अगाडि बढ्छ।’
सत्ता गुम्दाको पीडा र स्थानीय निर्वाचनमा हार्नुको छटपटीले ओलीमा एमालेबाहेक अन्य वामपन्थी दलहरूप्रति वितृष्णा बढेको बढ्यै छ।
ओलीले यो प्रसंग निकाल्नुको कारणचाहिँ वाम एकताका लागि मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित तत्कालीन नेकपा सचिवालयका पाँच नेताले सिंहदरबारमा छलफल चलाएका थिए। छलफलमा वामदेवले ल्याएको प्रस्तावको मूल चुरो तत्कालीन नेकपाको सचिवालय ब्युँताएरै विस्तारै कम्युनिस्टहरूलाई एक ठाउँ ल्याउनु रहेको छ।
ओली बोली यत्तिकैमा टुंगिएन। आफ्नै नेता–कार्यकर्तालाई समेत आफू बोल्दा ताली नपिटेको भन्दै झोंक्किए। कांग्रेससँग मिसिन गएका कथित कम्युनिस्टहरूले एमालेको माखोसमेत मार्न नसक्ने ओलीले दाबी गरे। स्थानीय तह निर्वाचनमा १०–१५ सिट ल्याउने कम्युनिस्ट नामधारीले एमाले सकिएको भनेर प्रचार गरेको रिस उनले पोखे। ‘आफ्नै बिरुवा छैन। एमालेको वन समाप्त पारिदिएँ भन्छ। खोजमेल, गोडमेल गर्दा ३ प्रतिशत ल्याउनेले एमाले हार्यो रे। गठबन्धनका कारण नभई हाम्रै कमजोरीले हो निर्वाचन परिणाम केही तलमाथि भएको हो। अपवित्र गठबन्धनलाई मिल्काउनुपर्ने र त्यसो नभए गठबन्धन आफैं फुट्छ’, ओलीले भने।
सत्ताविमुख हुनुपरेको पीडामा रहेका ओलीले गठबन्धनको नाममा कांग्रेसमा हुलिएकाहरूले कुन दिन उसैले समातेर गालामा ठ्याम्म हान्ने टिप्पणी गरे। ‘सत्ताबाट नहटाउन खुट्टामा समातेर रुन्छन्’ भन्नसमेत बाँकी राखेनन्। त्यस्ताहरूलाई वामपन्थी भन्न नसकिने तर्क ओलीले गरे। ओलीले देउवा सरकारलाई चुनाव सार्न अघि बढेको आक्षेपसमेत लगाए। उनले भने, ‘संवैधानिक अंगहरूलाई समेत अपवित्र गठबन्धनको मतियार बनाएर निर्वाचन पर सार्ने खतरा छ,’ ओलीले भने, ‘संसदीय निर्वाचन मंसिरमा हुनैपर्छ। यसलाई तलमाथि हुन दिनुहुन्न। त्यो निर्वाचनमा हामी सुविधाजनक बहुमत ल्याएर सरकार बनाइछाड्छौं।’
ओलीले पाँच दलीय गठबन्धनका कारण देशलाई नै झगडिया बनाएको आरोप लगाए। महाअभियोगजस्ता कुरा लगाउने, मुद्दा हाल्ने र झगडिया खडा गर्ने काम गठबन्धनले गरेको उनको दाबी छ। ओलीले भने, ‘देशलाई नै गठबन्धनले झगडिया बनाएको छ। यो देशमा अरू विषयको पढाइ बन्द गरे हुने भयो कानुनबाहेक।’
कांग्रेससँग हिमचिम, कम्युनिस्टलाई जोड्ने पहल
वामदेव गौतमको वाम एकता अभियानलाई साथ दिन नेकपा माओवादी केन्द्रले हरियो झन्डा देखाएको छ। यसको छनकस्वरुप मंगलबार मात्रै नेकपा ब्युँताउने लक्ष्यसहित एमाले इतरका कम्युनिस्ट घटकहरूले सिंहदरबारमा बाक्लो छलफल गरे। सिंहदरबारको त्यो बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनलाई जोगाएर लैजाने तर वाम एकता अभियानमा जोडिने निर्णय भएको सुनाए।
दाहालले भने, ‘हामी नेकपाकालीन सचिवालयका बहुमत सदस्यबीच कम्युनिस्ट आन्दोलनलाई गति दिन एकता अभियान थाल्ने सहमति जुटेको छ। यसअघि पहिलो बैठक असारमा पनि गरेका थियौं। सबै कम्युनिस्ट पार्टीहरूले गठबन्धन गरेर जाने निर्णय भएको छ। त्यो एकता वा मोर्चा बनाएर जानेसम्म हुनेछ।’ नेकपालाई ब्युँताउन फेरि एकीकरणको विकल्प अगाडि सारिएकाले पार्टीले यसलाई सकारात्मक रूपमा लिएको उनको धारणा छ। कम्युनिस्टहरूबीच पार्टी एकीकणबारे कुरा भइरहेको र यसमा बाबुरामलाई पनि मिसाएर बृहत ढंगले अगाडि बढ्ने निर्णय छलफलले गरेको दाहालले सुनाए।
सत्तारुढ नेपाली कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले गठबन्धनलाई यताउति हुन नदिने गरी गरेको निर्णयलाई दाहालले वामपन्थी एकतासँग मिसाउन नहुने तर्क राखे। कम्युनिस्टहरूसँग एकता गरे पनि कांग्रेस गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको दाहालले दाबी गरे।
‘कांग्रेसले सही निर्णय गरेको छ,’ अध्यक्ष दाहालले भने, ‘हामी पनि यही गठबन्धन सँगै लिएर जाने पक्षमा छौं। गठबन्धनमा यताउता गर्ने भन्ने छैन।’ कांग्रेस बैठकले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्ने निर्णय गरेको प्रसंग कोट्याउँदै दाहालले यसो भनेका हुन्।
गठबन्धनमा सहभागी भएपछि कांग्रेस पनि नछाड्ने र कम्युनिस्टहरूलाई पनि एउटै बनाउने दाहालको मनसुवा राजनीतिक रूपमा भने सफल हुने देखिन्न। आउँदा निर्वाचनमा कम्युनिस्टहरू एकै भएर मैदानमा गए कांग्रेसको करारी हार हुने निश्चित छ।