काठमाडौं– ट्री इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोकशैलीको नयाँ गीत ‘पीपल डाँडे साइँली’ रिलिज भएको छ। यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ। गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन्।
‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलर’ जस्ता चर्चित गीत गायक महतले यो गीत चार दशकअगाडि नै कल्पना गरेको बताए। दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ। भिडियोलाई दीपकले छायांकन गरेका हुन्।
दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन छ। भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ।
ट्री इन्टरटेन्मेन्टले बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेको हो। कार्यक्रममा कलाकार दीपाश्री निरौलाले प्रेमराजा महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। गायक तथा कलाकार महतले अब गीत–संगीतमा सक्रिय रूपमा लाग्ने बताए।
उनले यो गीत कोर्दा एक मोहोरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको बताए। यो गीतले चार दशक अगाडिको जनजीवनलाई चित्रित गर्न खोजेको उनको भनाइ छ।