धनगढी-निर्मला हत्याका वास्तविक दोषीलाई उम्काउन खोजिएको भन्दै स्थानीय बासिन्दाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् ।
बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयवासीले प्रहरीलाई समेत लखेटेका छन् । बन्दमा व्यापारीहरूले पनि साथ दिएको स्थानीय तारादत्त जोशीले बताए । आक्रोशित भीडले प्रहरीको भ्यानलाई समेत घेरेको छ।
भीमदत्तर-२ की निर्मला ११ साउनमा मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् ।
प्रहरीले सोमबार निर्मलाको बलात्कारपछि हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त-१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । स्थानीय बासिन्दाले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै विष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको दाबी गरेको थियो । जिल्ला प्रहरी कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले वास्तविक हत्यारा नै पक्राउ परेको बताए।
प्रहरी अनुसन्धान प्रमाणका आधारमा भएकाले आन्दोलनको ‘तुक नभएको’ उनले बताए । बिहानैदेखि महिला, व्यापारी, स्थानीयवासी चोक-चोकमा प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
मानसिक सन्तुलन ठीक नभएका बिष्टलाई जबर्जस्ति दोषि ठहर गराएको बताउँदै प्रहरीको आलोचना भइरहेको छ। परिवार र अन्य स्थानीय बासिन्दाको आशंका भने निर्मला बेपत्ता भएको घरका परिवारमाथि देखिएको छ। उनी साथीको घर जाने बताउँदै घरबाट निस्किएकी थिइन्।
अनिता बमको उक्त परिवारको प्रहरीसँग हिमचिम रहेकाले उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन नचाहेको आरोप स्थानीय बासिन्दाको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४