काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन्।
मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तर्क्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरे।
उनले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए। उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए। विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए।
भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए। उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए। ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ। त्यसको विकल्प छैन। यो बीचको एक–डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ। धेरै पछाडि नफर्किउँ कसले के गर्यो भन्ने कुरा। जब कसले के गर्यो भन्नेमा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौं र घाइते बनाउँछौं। अगाडि कसरी जाने त्यो सोचौं। त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौं कांग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ,’ उनले भने।
उनले भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताए। उनले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामर्थ्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताए। देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाइ छ।