काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन्। मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताए।
बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदा हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए। त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए। मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे।
त्यस अवसरमा मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उनको भनाइ थियो।