चापागाउँ (ललितपुर)- २९ साउनमा ललितपुरको वागमती गाउँपालिका–२ माल्टा बुढीखोरियाका कृषक मानबहादुर आले मगरले झुण्डिएर आत्महत्या गरे। दुई छोरा र श्रीमतीसहित खेती गर्दै आएका उनी आर्थिक अवस्था कमजोर रहेकाले निराश रहेको १९ वर्षीय छोरा कृष्णको भनाइ छ।
दुई दशकदेखि कृषि पेशा अपनाएका मानबहादुरले पसिना बगाएअनुसार कृषिबाट आम्दानी पाउन सकेन्। कृषि उपजको सही मूल्य नपाउने समस्या त छँदै थियो, बीउविजन, मल, किटनाशक विषादी र सिँचाइको पनि चर्को अभाव थियो। आत्मनिर्भर बन्न नसक्दा उनको परिवार आर्थिक बोझमा फसिरहेको थियो। उनलाई छिमेकीले पनि सम्झाउने गरेकै थिए। तर, आफ्नै इहलीला समाप्त गर्ने उनको मनोदशाबाट कसैले बाहिर निकाल्न सकेनन्।
सोही गाउँपालिका–२ की उमादेवी आले मगरले पनि आत्महत्याको बाटो रोजिन्। आत्महत्या रोजेका उमा र मानबहादुर नातामा काका–ससुरा र बुहारी पर्थे।
उमाका श्रीमान् चन्द्र पनि कृषि पेशामै आबद्ध थिए। त्यसबाट आत्मनिर्भर बन्न नसकेपछि मलेसिया हान्निए। त्यहाँ पनि एउटा काम भनेर अर्कैमा लगाइएपछि उनी स्वदेश फर्किए। वैदेशिक रोजगारमा जाँदा भएको खर्च पनि ऋणका रूपमा मुटुमा बिझेको काँडोजस्तै गाडियो।
स्वदेश फर्केर ऋणबाट पार पाउन उनले मजदूरी पनि गरे। तर, त्यसबाट ऋणको बोझ कम भएन। समस्या बढ्दै जाँदा घर चलाउन गाह्रो भयो, उमादेवीलाई। अन्ततः परिवारलाई दुःखमा छाडेर उनले आत्महत्याको बाटो रोजिन्।
कृष्ण र उमाले वैंशमा अंकुराएको प्रेमलाई विवाह बन्धनमा परिणत गराएका थिए। दुवैबीच राम्रो प्रेम थियो। तर, त्यसलाई गरिबीले वियोगमा टुंग्याइदियो।
‘सरकारले निराशावादी सोचलाई सम्बोधन गर्न सकेन। सामाजिक परिवेश पनि निराशावादी नै भयो।’
वरिष्ठ मनोविद् पदमराज जोशीको भनाइमा किसानमा पछिल्लो समय निराशावादी सोच हाबी हुँदै गएको छ। ‘सरकारले त्यसलाई सम्बोधन गर्न सकेन। सामाजिक परिवेश पनि निराशावादी नै भयो,’ उनी भन्छन्, ‘अनि आत्महत्याको बाटो रोज्न बाध्य भएका हुन सक्छन्।’
छिमेकी मुलुक भारतकै उदाहरण हेरौं । सरकारी तथ्यांकअनुसार पछिल्ला दुई दशकमा भारतमा तीन लाख कृषकले आत्महत्या गरिसकेका छन् । भारतमा करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । र, जनसंख्याको त्यो हिस्सा गरिबीको चक्रमा पिल्सिँदै आएको छ । त्यहाँका किसानले पनि नेपाली कृषकजस्तो साझा समस्या बेहोर्दै आएका छन् ।
महाराष्ट्र राज्यका किसानले बढी आत्महत्या गरेको देखिन्छ । महाराष्ट्रमा मात्र वार्षिक करिब चार हजार कृषकले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ ।
मजदूरले पनि रोजे
१२ फागुन ०७४ मा ललितपुरकै गोदावरी–२ आरुबोटमा इँटाभट्टामा काम गर्दै आएका ४२ वर्षीय लालबहादुर माझीले आत्महत्या गरे। धनुषाको मिथिला नगरपालिका–९ स्थायी घर भएका माझीका तीन छोरी, एक छोरा र श्रीमती छन्।
रोजगारी खोज्दै उनी राजधानी भित्रिएका थिए। वर्षमा ६ महिना मात्र पाइने इँटाभट्टाको कामबाट परिवार धान्न धौ धौ थियो। उनका भाइ बाबुराम माझीका अनुसार आर्थिक अभावकै कारण लालबहादुरले आत्महत्याको बाटो रोजेका हुन्।
बढ्दै आँकडा
नेपालमा चार वर्षयता आत्महत्याका घटना २२.७१ प्रतिशतले वृद्धि भएका छन्। सबैभन्दा बढी पूर्वाञ्चलमा आत्महत्याको दर बढी छ। आर्थिक वर्ष ०७१/७२ मा नेपालमा ४३ सय ३२ जनाले आत्महत्या गरेका थिए। आव ०७४/७५ मा बढेर ५३ सय १६ पुगेको छ।
झुण्डिएर आत्महत्या गर्नेमा पूर्वाञ्चल (हाल प्रदेश–१) अगाडि छ। त्यस प्रकृतिको आत्महत्यामा उपत्यकाका तीन जिल्लाको दर कम छ।
आफैंले ज्यान लिनेहरूमा सबैभन्दा बढी कृषक, विद्यार्थी र मजदूर देखिएका छन्। बढ्दो बेरोजगारी र महँगीलाई आत्महत्याका मूल कारण बताइने गरेको छ।
ललितपुरमा पछिल्ला तीन वर्षमा १७.२० प्रतिशतले आत्महत्याको दर बढेको तथ्यांकबाट देखिन्छ। आव ०७२/७३ मा ललितपुरमा ७७ जनाले आत्महत्या गरेका थिए। आव ०७४/७५ मा ९३ जनाले आत्महत्या गरेका छन्।
चापागाउँमा बढी घटना
२४ असारमा ओखलढुंगा मालुप–६ का विष्णु मगरले ललितपुर महानगर–१९ स्थित महेशमा जोशीको घरमा झुण्डिएर जीवन लिए। मजदूर पेशामा आबद्ध उनका पति–पत्नीबीच आर्थिक अवस्था कमजोर भएकै कारण झगडा भइरहन्थ्यो।
२२ जेठमा दोलखाकी १४ वर्षीया सविता भनिने जेनी श्रेष्ठले पासो लगाई आत्महत्या गरिन्। झम्सिखेलको एक घरमा काम गर्दै पढिरहेकी उनले आत्महत्या गर्नुको कारण मानसिक रोग रहेको खुलेको छ।
ललितपुर महानगर–१३ का ७१ वर्षीय कान्छा खत्रीले पनि पासो लगाई आत्महत्या गरे। गाई फर्म सञ्चालक खत्रीको आत्महत्याको कारण कतैबाट सहयोग नपाउनु रहेको प्रहरीको भनाइ छ।
ललितपुर महानगर–९ शंखमुलमा २५ वर्षीया सजनी डंगोलले आफ्नै सलले पासो लगाई ९ वैशाखमा आत्महत्या गरिन्। उनको आत्महत्याको कारण प्रेममा असफलता हुन सक्ने अनुमान प्रहरीको छ।
यस्तै, २२ चैत ०७४ मा एक निर्माणाधीन हाउजिङमा काम गर्ने ६४ वर्षीय केशव हमालले पासो लगाई आत्महत्या गरे।
प्रहरीका अनुसार ललितपुरको चापागाउँ क्षेत्रमा आत्महत्याको दर बढी देखिएको छ। त्यहाँ तीन वर्षमा ७४ जनाले आत्महत्या गरिसकेका छन्। आफ्नै जीवन लीला समाप्त गर्नेहरू १६ देखि २५ वर्ष उमेर समूहका बढी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४