विराटनगर- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 'एम अधिकारी' सार्वजनिक गर्न आवश्यक नभएको बताएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै छद्म नाम 'एम अधिकारी'का रूपमा एमाले योजना विभाग सदस्य बनेको आरोप लागिरहेका बेला वरिष्ठ उपाध्यक्षको यस्तो जवाफ आएको हो।
'राजनीतिक दलभित्र पनि केही विषयमा गोपनीयता राख्नु पर्ने विषय हुन्छन्। सबै विवरण सार्वजनिक गर्न पार्टी बाध्य हुँदैन,' अधिकारीको भनाइ छ। आवश्यक परेको एम अधिकारी सार्वजनिक गर्न सकिने उनले दाबी गरे।
'एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम अधिकारी अहिलेका गभर्नर महाप्रसाद अधिकारी नभएको सम्बन्धित व्यक्ति र पार्टीले समेत स्पष्ट गरिसकेकाले अब यही विषयमा बढी खनजोत गर्न आवश्यक छैन,' मंगलबार विराटनगरमा एमालेको भातृ संस्था प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले भने।