विराटनगर– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको उनको आरोप छ।
प्रेस चौतारी नेपाल प्रदेश १ ले मंगलबार विहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले आर्थिक विकास, समृद्धि, सामाजिक सद्भाव कायम राख्ने र देश बनाउने सपना जागृत गराउने सवालमा सरकार जिम्मेवार नबनेको बताए। सरकार मूल्यवृद्धितर्फ केन्द्रित भएको उनको आरोप छ।
नेता पोखरेलले आगामी निर्वाचनमा गठबन्धन गरेर आउँदा पनि एमाले सामना गर्न तयार रहेको बताएका छन्। एमालेलाई कसैले पनि एक्ल्याउन नसक्ने उनको दावी छ। मुलुकमा बाम तालमेलको सम्भावना नरहेको उनले बताए। एमालेले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने उनले बताए।
नेता पोखरेलले प्रदेश १ को नामकरणको विषयमा केन्द्रको धारणा आवश्यक नभएको बताए। प्रदेशको नाम साझा र सबैलाई मान्य हुने गरी आउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘नामको विषयमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ। केन्द्रले हस्तक्षेप गर्यो भन्नु लुते कुरा मात्रै हो।’