काठमाडौं- नेपाली कांग्रेसलाई आफ्नो पार्टी सभापति नेतृत्वको सरकारलाई पाँच सुझाव दिएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गर्दै कांग्रेस विभिन्न ५ सुझाव व्यक्त गरेको हो। संविधानको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरू माथिको आक्रमण रोक्नका लागि विशेष परिस्थितिमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएको कांग्रेसले जनाएको छ।
पाँच दलीय गठनबन्धनको वर्तमान सरकारको एक वर्ष पूरा भइरहँदा संविधानलाई ट्रयाकमा ल्याउँदै क्रमशः कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेकोप्रति कांग्रेसले प्रशंसा गरेको छ।
कांग्रेसले भनेको छ, 'अनेक राजनीतिक चुनौती पार गर्दै मुलकलाई सहि मार्गमा ल्याई पुर्याउन सफल नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासन लगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ।'
कांग्रेसले दिएका सुझावहरु:
(क) पूर्ववर्ती सरकारले संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरुका विरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी निर्णय गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ।
(ख) देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढंगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्युनिकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्दछ।
(ग) सुशासन कायम गर्ने सन्दर्भमा ‘शुन्य सहनशीलता’ नीति अंगिकार गरी व्यवहारिक कार्यान्वयन गर्न, पारदर्शीता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न कुनै कसर बाँकी नराख्न यो बैठक सरकारसँग आग्रह गर्दछ।
(घ) महंगी, कालोबजारी, मलको अभाव लगायत जनजीविकाका सवालहरूमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रकृयागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताको साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह पर्दछ। खेतीको समयमा हरेक बर्ष नेपाली किसानहरुले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकार समक्ष आग्रह गर्दछ।
(ङ) नागरिकताबाट वञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदमा सरकारद्वारा प्रस्तुत नागरिकता सम्बन्धी विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराउँदछ।
त्यसैगरी कांग्रेसले तीनै तहको सरकारलाई विपत्तिसँग जुध्न सम्पूर्ण तयारी समयमै गर्न आग्रह गर्दै सम्भाव्य प्रभावित क्षेत्रका नागरिकलाई सजग गराउँदै आवश्यक सहयोग र सेवाको समन्वयका लागि स्थानीय पार्टी पंक्तिलाई सतर्क रहन अपील गरेको छ।
कांग्रेसले श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई संवेदनशीलतापूर्वक लिएको जनाएको छ। कांग्रेसले भनेको छ, 'यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपील गर्दछ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पिडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ।'