काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल अर्को निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सभामुख सापकोटाले वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने प्रष्ट पारेका हुन्। प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा आफूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुखसँग छलफल गरेको जानकारी उनले दिएका छन्।
छलफलका क्रममा आफूहरुबीच प्रतिनिधिसभाको कार्यकालका सन्दर्भमा समान बुझाइ रहेको उनले सुनाए। ‘प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निष्कर्षअनुसार गर्ने भन्नुभएको छ। प्रधानमन्त्रीज्यूले भनेकै कुरामा छलफल गर्दै जाउँ, के निष्कर्ष निस्किन्छ, त्यही अनुसार गर्ने भन्ने कुरा भयो। तर, मोटामोटी हाम्रो सबैको बुझाइ के भयो भने नोमिनेसनको दिनसम्म नै कार्यकाल रहन्छ,’ उनले भने।
सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा संविधानविद्हरुसँग पनि छलफल गर्नुपर्ने बताए। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आगामी मंसिर २ गतेको मिति प्रस्ताव गरेको छ।
यसअघि ०७४ साल मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो। यसपटक भने निर्वाचन आयोगले एकैपटक चुनाव गर्ने गरी सरकारलाई मिति सिफारिस गरेको छ।
कानुनमा निर्वाचित प्रतिनिधिको कार्यकाल प्रष्ट छ तर निर्वाचनका लागि मिति तोकिएको छैन। तोकिएकै मितिमा निर्वाचन गर्ने अभ्यास विभिन्न देशमा हुने गरे पनि हामीकहाँ मिति उल्लेख नहुँदा आयोगले समस्या बेहोर्नुपरेको विज्ञको बुझाइ छ।