पोखरा- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्। महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाएका हुन्।
‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदाबाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ,' आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले भने, 'मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारबाट सम्भव छैन।'
अब मुलुकमा धेरै राजनीतिक दल आवश्यक नभएको उनको भनाइ थियो। मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुई वटा प्रश्न भएको उनले उल्लेख गरे। 'सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको माध्यमबाट समाजतर्फ लैजाने, एउटा बाटो। यो समाजलाई उद्धार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने अर्को बाटो। कतातर्फ जाने भन्ने बाटोको छनौंट नेपाली जनताले गर्नुपर्नेछ,' महासचिव पोखरेलले भने, 'नेपालका राजनीतिक दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरी धुब्रीकृत हुन जरुरी छ । यसअर्थमा अव धेरै राजनीतिक दलहरु होइन, राजनीतिक ध्रुवीकरणमा जान जरुरी छ। आउने निर्वाचन त्यो दिशातर्फ अघि बढने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु।’
महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको आपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भइरहेको दाबी समेत गरे।