बिहीबार, असार ३२, २०८३

भूकम्पले भत्किएको धरहरा कहिले बन्ला?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ठाडो नाक समस्त कान्तिपुरका हे उच्चता कृत्रिम
ज्यामी लाख थियौ पवित्र पसिना हे मेघको आश्रम
सेतो स्तम्भ सुकीर्तिको धरहरा देऊ मलाई बिदा
हे अग्ला प्रहरी सरी नगरको देऊ मलाई बिदा


युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’बाट उद्धृत गरिएको श्लोक हो यो । धरहरा निर्माणको समय बुझाउने यो श्लोक धरहराको ताम्रपात्रमा कोरिएको छ । मानव निर्मित ठाडो नाकजस्तो वस्तुका रूपमा युगकविले धरहराको वर्णन गरेका छन्, खण्डकाव्यमा ।

उक्त ताम्रपात्र बन्द ढोका अघिल्तिर राखिएको थियो । १२ वैशाख ०७२ को भूकम्पबाट धरहरा त ढल्यो, ताम्रपत्र भने अझै छँदैछ ।

धरहरा परिसरको माहोल उस्तै छ । स्थान उही तर अवस्था फरक । अब सम्झनामा मात्र छ धरहरा । भग्नावशेषले मात्र त्यसको सम्झना दिलाउँछ ।

पर्खाल, तार र बाँसको ठुठोका साथ उभिइरहेको छ, धरहरा । भत्किएकै भए पनि त्यसलाई सम्झिएर आउनेको संख्यामा कमी छैन । कालिकोटकी एक अधवैंशे महिला धरहरा अघिल्तिर उभिएर आफन्तलाई पर्खिइरहेकी थिइन् । धुमिल भएको धरहराको अस्तित्वतर्फ औंल्याउँदै अर्की एक महिला आफ्ना आमा–बाबुलाई देखाउँदै थिइन्, ‘ऊ यहाँ थियो धरहरा ।’

काई लागेको भुईं, नजिकैको बन्द टिकटघर, टुटेफुटेका भग्नावशेष, छेउको छहारीमा निश्चिन्त सुतिरहेका मानिस । ती सबै भाँचिएको धरहराको साक्षी बसेझैं लाग्थे ।

वर्षात्बाट जोगाउन अहिले भग्नावशेषमाथि पाल टाँगिएको छ । विश्रामस्थलमा पानी बेच्ने मानिस, प्रेम जोडी, कपडा बिक्री गरिरहेका खुद्रा व्यवसायी । गफिन भेला भएका मानिसको जमघट बाक्लै हुने गर्छ, पहिलेझैं । यस्तो लाग्छ, धरहराको अस्तित्व धरमराए पनि मानिसलाई अझै त्यसको आभास हुन्छ होला ।

धरहरा र भीमसेन स्तम्भ

इतिहासकारहरूका अनुसार पहिले दुई वटा धरहरा निर्माण गरिएको थियो । पहिलो ११ र पछिल्लो नौ तलाका थिए । ९० सालको भूकम्पमा परेर एउटाको अस्तित्व समाप्त भयो । पछिल्लो पनि भाँचिएको थियो, जसलाई नौ तलाका रूपमा लामो समय अस्तित्वमा राखिएको थियो।

भीमसेन थापाको पालामा बनेकाले त्यसलाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ । खास अर्थमा भीमसेन स्तम्भ र धरहराको भने फरक पहिचान छ।

हालको धरहरा वास्तवमा भीमसेन थापाले बनाएको नभई रानी ललितत्रिपुरा सुन्दरीले बनाउन लगाएकी थिइन् । रानीले बनाउन लगाएको पछिल्लो धरहरा नौ तलाको थियो। 

१५ जनवरी १९४३ मा भीमसेन स्तम्भ पूर्ण रूपमा ध्वस्त भयो । र, धरहरा मात्र बाँकी रह्यो । त्यसताका तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले पुनर्निर्माण गराएका थिए । पहिले भीमसेन स्तम्भ रहेको स्थानमा अहिले पार्किङ क्षेत्र छ । 

भत्किनु अघिसम्म धरहराको उचाइ ६२ मिटर थियो । र, एक सय १३ वटा सिँढी थिए । धरहरा चढ्न गएका र आसपासमा भएका समेत गरी भग्नावशेषमा पुरिएर ५० जनाको ज्यान गएको थियो ।



टेन्डरको चरणमा

१२ वैशाख ०७२ को भूकम्पबाट धरहरा भाँचिएको साढे तीन वर्ष हुन लाग्यो । तर, अहिलेसम्म त्यसको पुनर्निर्माण भएको छैन । लामो विवादपछि कंक्रिटको धरहरा निर्माण गर्ने लगभग सहमति जुटेको जानकारहरू बताउँछन् । भत्किएको धरहरा निर्माणका लागि चाकु, मास, बज्र र सुर्कीको प्रयोग गरिएको थियो । पुरातत्वविद् तथा इतिहासकारहरूले पुरानै शैलीमा निमार्णका लागि जोड दिँदै आएका छन् ।

मिनार आकारमा रहेको पुरानो धरहराको पूर्वपट्टि नयाँ निर्माण हुनेछ । पुरानो भग्‍नावशेष धरहरामा भने ‘टेम्पर ग्लास’को प्रयोग गर्ने तयारी छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले अभियान चलाएका थिए, ‘मेरो धरहरा मै बनाउँछु’ । त्यसबाट नौ करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । नयाँ बन्न धरहराको लागत करिब चार अर्ब अनुमानित छ ।

यसअघि नेपाल टेलिकमले व्यावसायिक प्रयोजनसहितको धरहरा निर्माण गर्ने प्रस्ताव गरेको थियो । व्यावसायिक प्रयोजनमा पुरातात्विक सम्पदाको पुनर्निर्माण हुन नसक्ने बताउँदै पुरातत्वविद्हरूले विरोध जनाएपछि टेलिकमको प्रस्ताव असफल भयो । र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसको पुनर्निर्माणको जिम्मा पायो ।

पुनर्निर्माण शुरु भएको दुई वर्षमा सम्पन्न गर्ने योजनामा काम अगाडि बढेको छ । तर, निर्माण शुरु हुने मिति अझै अन्योल छ । आगामी ५ भदौसम्ममा टेन्डरको प्रक्रिया सक्ने तयारी छ । 

हालसम्म पाँच वटा कम्पनी ‘सर्ट लिस्ट’मा परेका छन् । तीमध्ये कसले पाउने भन्ने निक्र्योल गर्न बाँकी छ । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कस्तो निर्देशन आउँछ, सोहीअनुसार काम अगाडि बढाउँछौं,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव इन्जिनियर राजुमान मानन्धर भन्छन् ।

उनका अनुसार नयाँ धरहरा २२ तलाको हुनेछ र भूकम्प प्रतिरोधि प्रविधिको प्रयोग गरिनेछ । नयाँ बन्ने धरहरामा टक्सारलाई विशेष आकर्षणको केन्द्र बनाउने सरकारी योजना छ । धातुका मुद्रा तयार पार्ने टक्सार अहिले अस्तित्वमा छैनन् । र, त्यसको जानकारी पछिल्लो पुस्तालाई दिने सरकारी योजना छ ।

म्युजिकल फाउन्टेन, मिड लाइट आदि राखिनेछ । धरहरा चढ्न लिफ्टको व्यवस्था हुनेछ । एक पटकमा ११ जना चढ्न सक्ने लिफ्ट निर्माण हुनेछ ।

तीन सयदेखि चार सय कार र सात सय मोटरसाइकल पार्किङको क्षमता रहने इन्जिनियर मानन्धर बताउँछन् । त्यसको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाको जिम्मामा हुनेछ ।

धरहरा निर्माणका लागि हालसम्म २४ करोड रुपैयाँ जम्मा भइसकेको छ । नेपाल टेलिकमले एक अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । 

यति महत्वपूर्ण पुरातात्विक सम्पदा निर्माणमा ढिलाइ हुनु सरकारी गैरजिम्मेवारीको परिणाम भएको प्राध्यापक सुरेन्द्र केसी बताउँछन् । भन्छन्, ‘पहिलेका सरकार क्रुर र तानाशाही भए पनि काममा तदारुकता लिन्थे र जिम्मेवार थिए । अहिलेका सरकारहरू निर्लज्ज छन् ।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।