काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन्। शुक्रवार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।
एमसीसीको व्याख्यात्मक घोषणा गरेर आफूहरूले देशलाई तहसनहस हुनबाट बचाएको दाबी समेत गरे।
‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ। व्याख्यात्मकसँग जोड्यौँ। इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ। यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले। सरकारी गाडी अघि पछि घुमाउन थाले। नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो,' नेपालको दाबी छ, 'एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो। त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो?’
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने बताए। चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई उनको निर्देशन छ ।