काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नोपल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्। अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै देउवाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा देउवाले गभर्ननरले राजीनामा दिनुपर्ने बताएका थिए। बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नताबारे कुरा उठाएका थिए।
‘बैठकमा गभर्नरको राजनीतिक संलग्नता देखिएको कुरा उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा माग्ने नभई अधिकारी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो,’ छलफलमा सहभागी गठबन्धनका एक नेताले भने। असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ।
उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामाको माग हुँदै आएको छ।