काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले हारे पनि एमालेलाई हराउन सफल भएको बताएका छन्। नेकपा एसको बागमती प्रदेश कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एसलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको दाबी गरे।
नेपालले भने, ‘ठूलो सम्भावना भएको भनिएको एमालेले ठूलो धक्का खान पुग्यो। हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने। राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न। अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकालाई मुख्यमन्त्री बनाइयो। हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्छ।’
अध्यक्ष नेपालले गठबन्धनको नाममा बढी आशावादी हुनुभन्दा एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्नेमा जोड दिए। गठबन्धनको उम्मेदवार भएपछि पक्कै जितिन्छ भन्ने भ्रममा नबस्न कार्यकर्तालाई उनले सचेत गराए। नेकपा एसबिना गठबन्धनलाई निर्वाचन जित्न अप्ठेरो पर्ने उनको दाबी छ।
उनले भने, ‘गठबन्धनको उम्मेदवार बन्छौं, शानदार जित्छौं भन्ने हाम्रोमा मानसिकता भयो। आफ्नो शक्ति बनाउन लागेनौं। हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं। तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपथ्यो, त्यो नहुने खतरा अहिले पनि छ।’