काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को संस्थापन अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष बाबुराम भट्टराई पार्टी फुटाउने गतिविधिमा लागेपछि कारबाही गरिएको प्रस्टीकरण दिएका छन्।
संघीय परिषद्अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो।
वीरगञ्जमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हित विपरीत काम गरेको पाइएकोले भट्टराईलगायतलाई कारबाही गरिएको बताए।
‘बाबुरामले पार्टी विभाजन गर्ने जुन षडयन्त्र गर्नुभयो, त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरेका हौं,’ यादवले भने।
भट्टराई सच्चिएर आए पार्टीमा ठाउँ रहेको उनको भनाइ छ। बाबुराम अर्को पार्टी खोल्न लागिसकेको अवस्थामा एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउन नसकिने अध्यक्ष यादवले बताए।
नेतृ रेणु यादवले जसपा नछाडेको अध्यक्ष यादवको जिकिर छ। ‘उहाँको क्षणिक आक्रोश हो,’ यादवले भने।
रेणुले बिहीबार जसपाको कुनै पनि जिम्मेवारीमा नरहने बताइसकेकी छन्।
अध्यक्ष यादवले पार्टीमा आफ्ना कारण समस्या नआएको दाबी गरे। भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्दा संस्थापन उपेन्द्र समूहले वीरगञ्जमा केन्द्रीय समिति बैठक चलाएको थियो।
जसपामा बाबुराम र उपेन्द्रबीच सहमतिमै अलग हुने सहमति केही समयअघि भएको थियो।