काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन्।
उक्त बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन्।
यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। सांसद कृष्णभक्त पोखेलले उक्त प्रस्तावको समर्थन गर्नेछन्।
त्यसपछि ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी बताए।
प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुने भएसँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ।
२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन। तर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेका बेला प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७३ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यस यता उपसभामुख पद रिक्त रहेको छ।
संसद सचिवालयले उपसभामुखको निर्वाचन शुक्रबार हुने गरी बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।