काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ‘सुराकी’ शब्द केन्द्रीय समिति बैठकको रेकर्डबाट हटाउन माग गरेका छन्। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबारको बैठकमा बोलेको उक्त शब्द रेकर्डबाट हटाउन सिटौलाले माग गरेका हुन्।
कोइरालाले स्थानीय निर्वाचनको समयमा आफ्नाविरूद्ध सभापति शेरबहादुर देउवाले सुराकी खटाएको बताएका थिए। कोइरालाले कतिपय जायज कुरा बोले पनि मिडियाले सुराकी शब्द उचालेको पनि सिटौलाले बताए। ‘सुराकी शब्दले हित गर्दैन, त्यसकारण रेकर्डबाट हटाउनुपर्छ। बरू सभापतिले त्यो सम्बन्धमा के भएको थियो, त्यसबारे ध्यान दिनुहोला,’ सिटौलाले भने। शेखरले जायज कुरा उठाए पनि सुराकी शब्दका कारण छायामा परेको सिटौलाको भनाइ थियो।
सिटौलाले आगामी निर्वाचनमा वाम एकता भएमा पार्टीको स्थिति के होला भनेर प्रश्न पनि उठाएका छन्। गठबन्धन परिस्थितिले निर्माण हुने भएकोले वाम एकता भएमा कांग्रेसलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए।
उनले भने, ‘स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो। भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ? अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बन्दा कांग्रेस प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको थियो। तर, गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा भने कांग्रेसले माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसँग मिलेर चुनाव लड्दा सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।’
बैठकमा चुनावी गठबन्धनबारे धेरै कुरा उठेको भन्दै उनले अहिले नै त्यसबारे टुंगो लगाउन आवश्यक नभएको बताए। उनले भने, ‘गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यकता छैन। देश जता जान्छ, त्यतै जाने हो। धेरै साथीहरूले गठबन्धन गरौं–नगरौं भन्नुभयो तर त्यो परिस्थितिले भन्ने कुरा हो।’
गठबन्धनका कारण अहिले कांग्रेसको केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार रहेको उल्लेख गर्दै उनले जनताका कुरा सुनिन थालेको धारणा राखे। उनले कुनै पार्टीले गठबन्धनको कुरा नगरेकोले जुन शक्तिसँग पनि गठबन्धन हुन सक्ने संकेत गरे।