काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीनाक्षी झाले तराईमा आफूहरू कांग्रेस बनाउन लागेको तर सभापति शेरबहादुर देउवा भने सिद्ध्याउन लागेको आरोप लगाएकी छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेतृ झाले यस्तो बताएकी हुन्। 'मधेशमा प्रदेशमा कांग्रेस सिध्याउन खोजेको हो? हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो, तराईमा कांग्रेस चाहिदैन सभापतिज्यू? जनकपुरमा हामीलाई टिकट किन दिइएन?,' नेतृ झाको प्रश्न थियो, 'जसपालगायत क्षेत्रीय पार्टीहरूसँग भिड्नु छ। कांग्रेस बनाउन हामी लागेका छौं। अनि हाम्रै जनकपुरमा टिकट खोसेर जसपालाई दिएपछि हामी कसरी लड्ने? कांग्रेस तराईमा सिध्याउन खोजेको हो? अब तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू?'
यसअघि बोलेका नेता विमलेन्द्र निधिले जनकपुरका मेयर मनोज शाह सुडी र बर्दिबासका मेयर प्रल्हाद क्षेत्रीलाई पार्टीमा फिर्ता ल्याउन प्रस्ताव गरेका थिए। 'मनोज शाह सुडी र प्रह्लाद क्षेत्रीलाई पार्टीमा फिर्ता ल्याऔँ। पार्टीले टिकट नदिएर उहाँहरू स्वतन्त्र उठेर जितेका साथीहरू हुन्। जसरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अतहर कमल मुसलमानले स्वतन्त्र उठेर जित्नुभयो,' उनले थपेका थिए,'पछि हामीले उहाँलाई फिर्ता ल्यायौँ। त्यसरी नै उहाँहरूलाई फिर्ता ल्याऔँ।'
सरकारले १ वर्षे कार्यकाल पूरा गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई बधाई र शुभकामना दिएका थिए।