काठमाडौं– नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताएका छन्। उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभईअन्तरराष्ट्रियस्तरमा पनि हुने बताए।
विदेशमा पनि विचार नमिल्ने दलहरूका बीचमा गठबन्धन हुन्छ भन्ने उनको प्रष्टोक्ति थियो।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा खड्काले विचार नमिल्ने देशहरुबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको तर्क गरेका हसन्। पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो धारणा राखेका हुन्।
‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन,’ उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ। गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन। स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ।’
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे। उनले एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै एसपीपी भने अघि नबढ्ने स्पष्ट गरे।