काठमाडौं- शेखर कोइराला समूहमा सक्रिय नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समूह भेलाबारे सभापति शेबबहादुर देउवालाई जवाफ फर्काएका छन्। विगतमा देउवाले पनि गुट बनाएको भेला/बैठक र छलफल गरेको सम्झाउँदै उनले यसलाई अनौठो मान्नुपर्ने कारण नभएको उल्लेख गरेका हुन्।
'अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झनुपर्छ। हिजो उहाँले पनि गुट बनाउनु भएको थियो। हिजोका उहाँले गरेका भेलाबारे चाहिँ के भन्नुहुन्छ?,' पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने।
आफूहरूले पार्टी प्यालेसमा गएर भेला गर्नु बाध्यता भएको उनीहरुको भनाइ थियो। कार्यालयमा स्थान नदिइएकाले आफूहरू पार्टी प्यालेससम्म पुग्नुपरेको उनले प्रष्ट पारे। 'ठूलो हलको व्यवस्था होस्। ठूलो कोठा दिइयोस्। हाम्रो समूहका सबै साथी अटुन्। हामी बाहिर भेला गर्दैनौँ। पार्टी कार्यालयमै छलफल गर्छौं,' केसीले भने।
यसअघि बुधबारको बैठमा बोल्दै देउवा समूहका नेता राजीव ढुंगानाले समूह भेला पार्टी कार्यालयमा नै गर्न आग्रह गरेका थिए।
शेखर कोइराला समूह भने आफ्नो समूहको नेता कोइरालाका लागि छुट्टै कोठासमेत नभएको भन्दै गुनासो गर्दै आएको छ।