काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित दर्ता गरायो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको छ।
यसअघि नेपालले कुनै पनि खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्न सकेको थिएन। स्कटल्यान्डको टिटबुड ग्लास्गो रंगशालामा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले घरेलु टोलीलाई सस्तैमा समेटेको थियो। स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो। स्कटल्यान्डले ९५ रन बनाउँदा आफ्नो ९ विकेट गुमाइसकेको थियो। उक्त अवस्थामा स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको साझेदारी गर्दै टिमको स्कोर १४४ को स्थितिमा पुर्याए।
पहिलो अर्धशतक बनाएका गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे। जितका लागि १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सिरिजमा यो जितसँगै नेपाल फेरि पाँचौं स्थानमा उक्लिएको छ। यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित हुँदै तालिकाको छैटौं स्थानमा झरेको थियो।
नेपालको शानदर बलिङ
तीव्र गतिका बलरले उच्च प्रदर्शन गरेपछि घरेलु टोलीलाई सस्तैमा समेट्न सफल भयो, नेपाल। खेलको सुरुदेखि नै नेपाली बलर स्कटल्यान्डविरुद्ध हाबी भए। खेलको दोस्रो ओभरमै विकेट लिँदै नेपालले घरेलु टोलीमाथि दबाब सिर्जना गरेको थियो। तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेट किपर आसिफ शेखबाट क्याच आउट गराएका थिए। करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराउँदै पहिलो विकेट लिए।
आठौं ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२ रन बनाउँदा ३ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको थियो। सोमपालको १२औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट गराएपछि स्कटल्यान्डले ३३ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। आदिल अन्सारीको बलमा जर्ज मुन्से चार रनमा कुशल भुर्तेलबाट आउट भए। त्यस्तै, उनले तल्लो क्रमका माइकल लिस्कलाई चार र शफ्यान शरिफलाई १६ रनमा आउट गरे। यो अन्सारीले गरेको सबैभन्दा राम्रो प्रदर्शनमध्येको एक हो।
१० ओभर बलिङ गरेका सोमपाल कामीले ४० रन खर्चेर ३ विकेट लिए। आदिल अन्सारीले पनि १० ओभर बलिङ गर्दै एक मेडनसहित ३१ रन दिँदै ३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै एक मेडन राख्दै ३५ रन दिँदै २ विकेट लिए। त्यस्तै, करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए।
उत्कृष्ट ब्याटिङ
सामान्य लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आसिफ शेखले शानदार प्रदर्शन गरे। ओपनर शेखले ६२ बलमा १० चौका र १ छक्कासहित ७१ रनको उल्लेखनीय पारी खेले। आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडीआई करिअरको चौथो अर्धशतकसमेत पूरा गरे। ओपनरद्वय आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। २८ बलमा ४ चौकासहित २७ रन बनाएका कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए।
सिरिजको पहिलो खेलमा अर्धशतक बनाएका आरिफ शेखले दोस्रो खेलमा भने आफ्नो जादूयी प्रदर्शनलाई निरन्तरता दिन सकेनन्। ११ बलको सामना गरेका उनी एक रन मात्रै बनाएर आउट भए। त्यस्तै, लगातार राम्रो प्रदर्शन गर्न नसकिरहेका देव खनाल र दीपेन्द्रसिंह ऐरी फेरि पनि राम्रो लयमा फर्कन सकेनन्। खनाल ४ र ऐरी ३ रनमा आउट भए। तेस्रो नम्बरमा क्रिजमा आएका रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे। उनले अन्तिममा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए। नामिबियासँग सिरिजको पहिलो खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पौडेलले दोस्रो खेलमा भने राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका छन्।
फेरि चुके दीपेन्द्रसिंह ऐरी
नेपाली राष्ट्रिय टिमका मुख्य खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी। उनको प्रदर्शनले टिममा ठूलै प्रभाव पार्ने गर्छ। तर पछिल्लो समय उनी टिममा जम्न सकिरहेका छैनन्। अघिल्लो नामिबियाविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेका उनी स्कटल्यान्डविरुद्ध पनि मात्र ३ रनमा आउट भए। पछिल्ला ओडीआई खेलमा उनले खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। टी–ट्वान्टी क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका उनी ओडीआई मा जम्न नसक्दा नेपाललाई धेरै प्रभाव परेको छ। ओडीआई क्रिकेटमा नेपालले ठूलो योगफल बनाउने हो भने ऐरीको राम्रो प्रदर्शन अनिवार्य छ। टी–ट्वान्टी क्रिकेटमा राम्रो प्रदर्शन गर्ने ऐरी अब ओडीआई मा जम्न आवश्यक छ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी र बसिर अहमद।
नेपालले अब शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।