सोमबार, साउन २५, २०८३

उपसभामुख निर्वाचन : पुष्पा भुसाललाई हारको तितो मेट्ने अवसर

निर्धारित समयमा दुई जनाको मात्र उम्मेदवारी परेपछि उपसभामुखका लागि पुष्पा भुसाल र विद्या भट्टराईको भिडन्त पक्का भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– कार्यकाल सकिन करिब ६ महिना बाँकी हुँदा संघीय संसद् प्रतिनिधिसभाको उपसभामुखको चुनाव हुन लागेको छ। भोलि शुक्रबार हुने निर्वाचनको प्रक्रिया आज सुरु भएको हो। शुक्बार दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन हुनेछ।

आज बिहान ११ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दुई जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमो)को तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपा एमालेको तर्फबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार भएकी छन्।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी सचेतक लक्ष्मीकुमारी चौधरी छन्। त्यसैगरी भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्।

निर्धारित समयमा दुई जनाको मात्र उम्मेदवारी परेपछि उपसभामुखका लागि भुसाल र भट्टराईको भिडन्त पक्का भएको छ। 

पुष्पा भुसाल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पनि हुन्। ५ वैशाख २०७५ मा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले भुसाललाई सचेतकमा मनोनित गरेका थिए। अर्घाखाँचीकी समानुपातिक सांसद भुसाल संसद्मा खरो रुपमा कुरा कुरा राख्ने सांसदमा पर्छिन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसाल पहिलो संविधानसभाको निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन्। उनी कानुन व्यवसायी पनि हुन्।

निर्धारित समयमा दुई जनाको मात्र उम्मेदवारी परेपछि उपसभामुखका लागि भुसाल र भट्टराईको भिडन्त पक्का भएको छ। 

भुसाल उपसभामुखमा दोस्रोपटक लड्न लागेकी हुन्। यसअघि २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। पछि मन्त्री बन्न तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिइन्। ६ माघ २०७६ मा तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभा उपसभामुखविहीन छ।

उपसभामुखका लागि अर्की उम्मेदवार विद्या भट्टराई भने प्रत्यक्ष जितेकी सांसद हुन्। उनी प्रतिनिधिसभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमालेकी सांसद हुन्। सो क्षेत्रका सांसद रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो। भट्टराई अधिकारीकी पत्नी पनि हुन्।  

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान संविधानमा छ। सभामुख पुरुष भएकाले उपसभामुखका लागि महिलाको मात्र उम्मेदवारी परेको हो। नेकपा माओवादी केन्द्रबाट सांसद चुनिएका अग्निप्रसाद सापकोटा सभामुख छन्। 

संसदीय अंकगणित हेर्दा उपसभामुख पनि गठबन्धनले नै हात पार्ने देखिएको छ। सत्ता गठबन्धनको स्पष्ट बहुमत प्रतिनिधिसभामा छ। साढे चार वर्षअघिको हारको तितो मेट्ने अवसर पुष्पा भुसाललाई मिलेको छ।    

प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, नेकाप एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।

प्रकाशित: Jul 14, 2022| 15:08 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...