रुपन्देही- नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सालझण्डीले पर्सा जिल्लाको पटेर्बा सुगौली घर भइ रुपन्देहीको कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नटलाई पक्राउ गरेको हो।
उनीसँगै ११ र १२ वर्षका दुई जना बालक पनि पक्राउ परेका छन्। विजयले ती बालकलाई प्रलोभनमा पारि चोरीका लागि प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
बनकसियामा रहेको हाटबजारमा तरकारी किनिरहेकी स्थानीय ७० वर्षीया वृद्धा चमेली थापाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना बालकले चोरी गरेपछि अनुसन्धान गर्दै जाँदा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले सिक्रीसमेत बरामद गरेको छ।