काठमाडौं– चलचित्र ‘हरिश्चन्द्र’ र ‘आमा’मध्ये कुनचाहिँ पहिलो नेपाली चलचित्र हो भन्ने विवाद अब टुंगिने भएको छ। चलचित्र विकास बोर्डले आफ्नो आधिरकारिक वेबसाइटमा हीरासिंह खत्री निर्देशित फिल्म ‘आमा’लाई पहिलो चलचित्र मान्दै विवाद किनारा लगाएको हो।
बोर्डले पहिलो नेपाली चलचित्र ‘आमा’ लाई मान्दै डिजिटाइजेसनसमेत गरेको छ। बोर्डको डिजिटाइजेसनमा संलग्न प्रशासकीय अधिकृत दिनेश बानियाले वेबसाइटमा उल्लेख भएको कुरालाई नै आधिकारिक मान्नुपर्ने बताए।
डीबी परियारद्वारा निर्देशित ‘हरिश्चन्द्र’लाई कतिपयले पहिलो नेपाली फिल्म मानेमा छन्, जुन २००६ भदौ २३ मा सार्वजनिक भएको थियो। कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण भएको फिल्म ‘हरिश्चन्द्र’ नेपालमा नबनेकाले त्यसलाई नेपालीभाषी मात्र मान्नुपर्ने तर्क थियो। बालकृष्ण समले राखेको भनिएको यसको रिल नारायणहिटी संग्रहालयमा भेटिएको छ।
त्यसैगरी कतिपयले ‘आमा’लाई पहिलो नेपाली फिल्म मान्दै आएका थिए, जुन २०२२ मा रिलिज भएको थियो। नेपालमा छायांकन भएको र प्राविधिक काम भारतमा भएकाले नेपाली भाषाको फिल्म ‘आमा’लाई पहिलो स्वदेशी चलचित्र मान्नुपर्ने तर्क थियो।
‘आमा’ र ‘हरिश्चन्द्र’लाई लिएर लामै विवाद हुँदै आएको थियो। यही क्रममा दिनेश डीसी नेतृत्वको तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयले पहिलो नेपाली फिल्मको आधिकारिकता माग्दै पत्र लेखेको थियो। तर मन्त्रालयले यसको उत्तर अहिलेसम्म दिएको छैन।
सरकारको प्रचार–प्रसार विभागले निर्माण गरेको यो फिल्ममा भुवन थापा चन्द, शिवशंकर मानन्धर र चैत्यदेवीको मुख्य भूमिका छ।