काठमाडौं- २८ महिनादेखि रिक्त प्रतिनिधिसभाको उपसभामुख चयन गर्न सत्तारुढ गठबन्धन तातेको छ।
स्रोतका अनुसार उपभामुख निर्वाचनको शुक्रबार हुने भएको छ। २०७६ माघ ६ गते डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ।
संविधानले एकै दलबाट सभामुख र उपसभामुख बनाउने कुरामा बन्देज लगाएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको मुद्दा लागेपछि पदबाट राजिनामा दिएका थिए।
त्यसलगत्तै तत्कालीन नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुखमा अघि सारेको थियो। सापकोटालाई सभामुख बनाउने पार्टीको निर्णयपछि तुम्बाहाङफेले राजीनामा दिएकी थिइन्। सापकोटा ०७६ माघ १२ गते सभामुखमा निर्वाचित भए पनि संसद्ले अहिलेसम्म उपभासमुख पाउन सकेको छैन।
उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले सरकारले परिषद्मा बहुमत पुर्याउन सत्ता गठबन्धनभित्रैबाट उपसभामुख छान्न लागिएको हो।
अहिले माओवादीका सभामुख रहेका कारण उपसभामुखमा उसको दाबी हुने छैन। सत्ता गठबन्धनबाट कांग्रेस, नेकपा एस र जसपाले उसपभासमुख दाबी गर्ने सम्भावना छ। यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि उपसभामुखमा दाबी गर्न सक्नेछ।