चितवन- भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १:३० बजेको समयमा पुल्चोकबाट मुग्लिङतर्फ जाँदै गरेको ना५ख ८४९७ नम्बरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटर चालक गैंडाकोट नगरपालिका-४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।